बिहिबार, बैशाख २७, २०८१

प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत प्राप्त

काठमाडौं फागुन ३०,
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभामा आज नेपालको संविधानको धारा १०० को उपधारा [२] बमोजिम प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्तुत गर्नुभएको प्रस्ताव उपर मत विभाजन हुँदा कूल २६८ मध्ये विश्वासको पक्षमा १५७ मत प्राप्त गर्नुभएको छ भने विपक्षमा ११० मत परेको छ । मत दिन्न भन्नेमा एक मत परेको हो ।

नेकपा एमाले , नेकपा माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी , जनता समाजवादी पार्टी, एकीकृत समाजवादी , नागरिक उन्मुक्ति पार्टीका सांसद एवं स्वतन्त्र सांसदले समेत विश्वासको पक्षमा मतदान गर्नुभएको हो ।

मतदान पछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा कायम २७५ मध्ये आजको बैठकमा २६८ जनाको उपस्थिति रहेको थियो । एक जना सांसदले तटस्थमा मतदान गर्नुभएको घोषणा संगै विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभामा कायम सदस्यको १३८ मत ल्याउनुपर्नेमा प्रधानमन्त्री प्रचण्डले सोभन्दा बढी मत अर्थात १५७ प्राप्त भएकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभएकोहो ।

 यसैवीच प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस १० गते नेकपा एमालेको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुँदा पुस २६ गते पहिलो पटक संसद बैठकबाट विश्वासको मत लिनुभएको थियो । त्यसपछि २०७९ चैत ६ गते प्रतिनिधि सभाबाट दोस्रोपटक र आज समेत तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो ।

आज नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाका सांसदले प्रम प्रचण्डको विपषमा मतदान गर्दै गर्दा नेकपा एमाले , समाजवादी , नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र ३ सांसदले पक्षमा विश्वासको मत दिनुभएको हो ।