शनिबार, बैशाख १५, २०८१

दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

सामाजिक र सांस्कृतिक नीति सक्रिय बनाउन महत्वपूर्ण भुमिका खेल्न सफल हुने पूर्वमन्त्री विश्वकर्माको विस्वास

 काठमाडौं फागुन १९,

दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । राजधानीस्थित राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गर्नुभएको नाटक मेलामा देशभरका ११ वटा विद्यालयका नाटक समावेश रहेका छन ।

फागुन २७ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटनसत्रमा वोल्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताए । ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति र सांस्कृतिक नीति, यी सबै नीति एकसाथ चल्नु पर्दछ ।’ तर अहिले सबैतिर राजनीतिक नीति मात्र हावी भएको भन्दै उनले भने । सबैतिर राजनीति हावी भएकाले समाजको एकनासको विकास हुन नसकिरहेको बताउनुभयो ।  साथै पूर्वमन्त्री विश्वकर्माले नाटक मेलाले सामाजिक र सांस्कृतिक नीति सक्रिय बनाउन महत्वपूर्ण भुमिका खेल्नेमा आफु विस्वस्त रहेको बताए ।

 नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले बालबालिका संवेदनशील भएको तर, राज्यको आँखा बालबालिकामा पुग्न नसकेको जिकिर गरिन् । आजको बालबालिकाहरु नै भोलिको भविष्य भएको उल्लेख गर्दै न्यौपानेले बालबालिकाहरुलाई नाटकमा सहभागी गराउनु भनेको उनिहरुको प्रतिभा उजागर गर्नु मात्र नभै उनिहरुमा आत्मविश्वास विकास गर्नुपनि रहेको बताइन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ एवम् नाट्य विभाग प्रमुख हिसान मगरले देशको संस्कृतिले नै देशको वास्तविक मुहार देखाउने भएपनि त्यहीँनेर कमजोर भएको बताए ।

कार्यक्रममा सिल्क रोड ईन्टरनेशनल लिग अफ थिएटरका संस्थापक दीपक सरकार लगायतले वोल्नु भएको उक्त कार्यक्रममा कार्यक्रमका सभापति नाट्यकर्मी महासंघका अध्यक्ष राजेन्द्र रिमालले बाल नाटक मेलाको माध्यमबाट असल, चेतनायुक्त नागरिक र समाज निर्माणको लागि पहल गरेको बताए ।

नाटक मेलाको उद्घाटन सत्रमा ग्लाडस्टोन एकेडेमी भक्तपुरको प्रभाकर न्यौपानेले निर्देशन गरेको नाटक ‘गीता’ को मञ्चन गरियो । गीतामा बैदेशिक रोजगारीमा विदेशीएको बाबु सम्पर्क विहिन भएपछि परिवार माथि आइपरेको समस्या समाधान गर्न गरिएको संघर्ष प्रस्तुत गरिएको थियो ।