बिहिबार, बैशाख २७, २०८१

राष्ट्रिय सभा सदस्य निर्वाचन: ९९.३२ प्रतिशत मतदान ,आजै निर्वाचनको परिणाम घोषणा हुने

काठमाडौं माघ ११,
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।  निर्वाचन कार्यतालिका अनुसार आज विहान ९ बजेदेखि दिउसो ३ बजेसम्ममा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदानमा प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान गरेका छन भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २७३ मतदाता रहेकोमा २७१ जनाले मात्र मतदान गरेका छन ।

समग्रमा सबै प्रदेशतर्फ कूल मतदाता २०४६ मा २०३२ जनाले मतदान गरेकोले ९९.३२ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

सातै प्रदेशका सबै निर्वाचन अधिकृतको कार्यालयहरुबाट प्राप्त विवरण अनुसार सातै प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५४९ जना मतदाता रहेकोमा ५४६जनाले मतदान गरी ९९ .४५ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १४९७ जना मतदाता रहेकोमा १४८६जनाले मतदान गरी ९९.२७ प्रतिशत मतदान भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

साथै उहाँले सातै प्रदेशमा मतगणनाको कार्य निर्वाचन अधिकृतको कार्यालयमा प्रारम्भ गर्ने तयारी भई रहेको र आजै निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम समेत रहेको जानकारी दिदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन राजनैतिक दल, उम्मेदवार, उम्मेदवारको प्रतिनिधि, मतदाता, कर्मचारी, सुरक्षाकर्मी, आम सञ्चार माध्यम एवम् सम्पूर्णमा धन्यवाद समेत ज्ञापन गनुृभएको छ।