बुधबार, बैशाख २६, २०८१

बिहीबार बेलुकी ७ बजेभित्र मुलुकको तेस्रो राष्ट्रपति चयनको परिणाम घोषणा गरिने

काठमाडौं फागुन २४,
निर्वाचन आयोगले मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।  नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।
प्रस्तुत निर्वाचनमा आठदलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा  एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।

त्यस्तै मतदानमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार सहित सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता मतदान गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएकोछ ।

साथै निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य शुरु गर्ने र बेलुकी ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको जनाएको छ ।

 राष्ट्रपतिमा दुई जना पूर्वसभामुख नेम्वाङ र पौडेलबीच प्रतिस्पर्धा  :  यसैवीच बिहीबार मुलुकको तेस्रो राष्ट्रपतिका लागि हुने निर्वाचनमा २ जना पूर्वसभामुखबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । आठदलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा  एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।  राष्ट्रपतिका दुवै उम्मेदवार पूर्वसभामुख हुनुहुन्छ । रामचन्द्र पौडेलसँग एक कार्यकालको सभामुखको अनुभव सहित छ भने नेम्वाङसँग संविधानसभा अध्यक्षको दुई कार्यकालको अनुभव रहेको छ । दुवै नेता संसदीय राजनीति बारे दख्खल राख्ने नेताको रुपमा चिनिन्छ ।