शनिबार, बैशाख १५, २०८१

राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नेता नेपाललाई ओलीको औपचारिक पत्र

काठमाडौं फागुन १४,
राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ।

एमालेले नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएलगत्तै एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्न औपचारिक पत्र पठाउनु भएको हो ।

यसअघि एकीकृत समाजवादीलाई पार्टीको हैसियतमा मान्न तयार नभएका एमालेले अध्यक्ष नेपाललाई सहयोगको याचना सहित औपचारिक पत्र पठाएको हो ।  पुस १० गतेको सहमतिमा एकीकृत समाजवादी सहभागी नभएपनि राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको छ।

प्राप्त जानकारी अनुसार  अध्यक्ष ओलीले राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न भन्दै नेपाली काँग्रेस वाहेक नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत पार्टीका अध्यक्षसहित स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै पत्र लेखेको एमाले केन्द्रीय मुख्यालयले जनाएके छ ।