सोमवार, बैशाख २४, २०८१

बालाजु घटनामा तोडफोड र आगजनीमा संलग्न ६ जना अभियुक्त सार्वजनिक

काठमाडौँ फागुन ३,
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएसंगै बालाजुस्थित माछा पोखरीमा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्याण्डमा तोडफोडका साथै आगजनी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।   बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौले पक्राउ पर्नेमा उदयपुर घर भई तारकेश्वर बस्ने विक्रम राई नुवाकोट घर भई बानियाटार बस्ने रामहरि भण्डारी, लमजुङ घर भई तारकेश्वर बस्ने विवेक श्रेष्ठ, काभ्रे घर भई बालाजु बस्ने राजेश तामाङ, प्युठान घर भई गोङ्गबु बस्ने दीपेन्द्र पुन मगर र काभ्रे घर भई गंगाहल बस्ने आशिष खड्का रहेका छन् ।

पक्राउ परेकाहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम ३ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आशङ्कामा अन्य १० जनामाथि पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।