बिहिबार, बैशाख २७, २०८१

मिथ्या फेसबुक पेज/ ग्रुपहरू तत्काल हटाउन आयोगको निर्देशन, नहटाईए कारवाही

काठमाडौं कात्तिक ८ ,

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” समेतका फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

झुठ फेसबुक पेज/ग्रुपहरू सिर्र्जना गरी नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को दपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने ठहर आयोगले गरेको छ ।

उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयासम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठा फेसबुक पेज/ग्रुपहरू तत्काल हटाई उप्रान्त यस किसिमको गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ । साथै, उक्त फेसबुक पेज/ग्रुपहरू तत्काल नहटाईएमा प्रचलित कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।