शुक्रबार, बैशाख १४, २०८१

निर्वाचनको औपचारिक मिति घोषणासंगै निर्वाचनको पूर्व तयारी शुरु: आयोग

  • आसन्न निर्वाचनमा करिब १० लाख मतदाता थपिने प्रारम्भिक अनुमान
  • उम्मेदवारी मनोनयन गरेपछि वर्तमान सांसद्हरुको पदावधि सकिने
  • निर्वाचन प्रयोजनका लागि रु १० अर्ब खर्च हुने अनुमान

काठमाडौं साउन १९ ,

  आज बसेको मन्त्रिपरिषद बैठकमार्फत सरकारले आगामी मंसिर ४ गते आइतबार संघ र प्रदेशसभाको निर्वाचन गर्ने औपचारिक घोषणा गरेसंगै निर्वाचन आयोगले सरकारको घोषणाको स्वागत गर्दै निर्वाचनको पूर्व तयारी थालेको छ । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले घोषणा गरेको मितिमा स्वतन्त्र र निष्पक्षरूपमा निर्वाचन गराउन आफू पूर्ण सक्षम रहेको जनाउ दिदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गतेको निर्वाचनका लागि अर्जुनदृष्टि दिएर निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भय रहित वातावरणमा सम्पन्न गर्ने तयारी सुरु भएको बताउनुभएको हो ।

त्यस्तै उहाँले पत्रकार सम्मेलनमार्फत दसैँलगत्तै उम्मेदवारी मनोनयन हुने गरी निर्वाचन कार्यक्रम र कार्यतालिका आउने जानकारी दिँदै उम्मेदवारी मनोनयन गरेपछि वर्तमान सांसद्हरुको पदावधि सकिने गरी कानून स्पष्ट गराउन सरकारलाइ यसअघिनै सुझाव दिइसकेको जानकारीदिदै आसन्न निर्वाचन लक्षित हुँदै सुरु गरेको मतदाता नामावाली सङ्कलन कार्य साउन २० गतेपछि स्थगन गर्ने र यसअघि अनलाइनबाट नामावली सङ्कनका लागि समय लिएकाहरुलाई साउन २१ गतेसम्म समय दिने आयोगको तयारी रहेको जानकारी दिनुभयो । साथै उहाँले यसवीचमा संकलन गरिएको नामावलीको रेसियो हेर्ने हो भने आसन्न निर्वाचनमा करिब १० लाख मतदाता थपिने प्रारम्भिक अनुमान रहेको जानकारी समेत दिनुभयो ।

त्यस्तै आयोगले अवको चरणमा दल दर्ता प्रक्रिया प्रारम्भ हुने जानकारी समेत दिनुभयो । त्यस्तै गरि पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलल आसन्न निर्वाचन प्रयोजनका लागि रु १० अर्ब खर्च हुने अनुमान सहितको अभिव्यक्ति दिदै यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा रु आठ अर्ब ११ करोड विनियोजन गरिएकामा रु पाँच अर्ब ४० करोड खर्च भएको जानकारीदिनुभयो । साथै उहाँले आयोगले युद्धस्तरमा मतदानस्थल र मतदान केन्द्रको पुनरावलोकन, निर्वाचन कार्यक्रम स्वीकृति, समानुपातिक निर्वाचन प्रणालीका लागि कार्यालय स्थापना, जनशक्ति व्यवस्थापन, बजेट तर्जुमा र आर्थिक निर्देशिकाको स्वीकृति, अन्य आवश्यक निर्देशिका, कार्यविधि र मापदण्डको तर्जुमा लगायतका तयारी गर्ने जानकारीदिदै आयोगको तयारीका विषयमा सूचनाहरु पत्रकारसमक्ष सहजरुपले पु¥याउनेगरी आयोगले व्यवस्थापन गर्ने जानकारी समेत दिनुभयो ।

पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त थपलियासहित आयुक्तहरु ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, सचिव गोकर्णमणि दुवाडी लगायतको उपस्थिती रहेको थियो ।