शनिबार, बैशाख १५, २०८१

प्रधानमन्त्री पदका लागि दिल्ली धाउनहरुले राष्ट्रिय स्वाभिमान गिराए: महासचिव पोखरेल

काठमाडौं साउन ९,
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै प्रधानमन्त्री पदका लागि दिल्ली धाउन थाल्नेहरुले राष्ट्रिय स्वाभिमान गिराएको बताउँनुभएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हालैको दिल्ली भ्रमण प्रति लक्षित गर्दै महासचिव पोखरेले यस्तो बताउनुभएको हो । प्रतिगमन भयो भनेर सडकमा हल्ला गर्दै हिंड्नेहरु नै अहिले प्रतिगमनको बाटो हिंडिरहेको बताउनुभयो ।

त्यस्तै उहाँले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारीत गरेर सरकारले सही काम नगरेको बताउनुभएको छ । नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु होइन भन्दै उहाँले विवाह गरेर आएकै दिन नेपाली नागरिकता दिने कुरा गलत भएको बताउनुभयो ।
त्यस्तै महासचिव पोखरेलले भारतीय नागरिकसँग विवाह गरेर जाँदा नेपाली चेलीले भारतको नागरिकता प्राप्त गर्न सात बर्ष पर्खिनु पर्ने तर नेपाल आउने भारतीय महिलले त्यहि दिन नागरिकता प्राप्त गर्ने कुरा गलत भएको बताउनुभयो ।

त्यस्ते महासचिव शंकर पोखरेलले निर्वाचन पनि क्रान्ति नै भएकोले आगामी निर्वाचनलाई चुनौतिका रुपमा लिएर त्यसमा सफल हुनेगरी अगाडी बढ्न नेकपा एमालेका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आव्हान गर्दै सूर्य ध्वजावाहक उम्मेदवार हार्दा पार्टी हार्ने र आफूले पनि हार्ने कुरालाई मनन गरेर सोही अनुरुप निर्वाचनमा जुट्न उहाँले निर्देशन दिनुभयो ।

बन्द सत्रमा जिफण्ट अध्यक्ष बिनोद श्रेष्ठले आगामी चारबर्षको लागि नीतिगत प्रस्ताव, उपाध्यक्ष रमेश बडालले विधान संशोधनको प्रस्ताव, उपाध्यक्ष विदुर कार्कीले आगामी कामको प्रस्ताव तथा महासचिव जनक चौधरीले चारवर्षको साँगठनिक प्रस्ताव टेवुल गर्नुभयो । महाधिवेशनमा देशभरीबाट जिफन्टका झण्डै ५ सय प्रतिनिधि सहभागि रहेका छन् ।