शुक्रबार, बैशाख १४, २०८१

चोरीको मोटरसाईकल सहित तामाङ्गद्दय पक्राउ

काठमाडौं पुस २८,
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज काठमाण्डौं चन्द्रागिरी नगरपालिका वडा नं.२ नागढुंगा स्थित सडक खण्डबाट धादिङ्ग गल्छी गाउँपालिका बस्ने वर्ष २७ को बिजय तामाङ्ग र वर्ष १८ को आईतराज तामाङ्गलाई प्रदेश ३–०२–०११ प ७२४१ नम्वरको कालो रातो रंङ्गको १५० सी. सी.को पल्सर मोटरसाईकल सहित पक्राउ गरेको महाशाखाले जनाएको छ ।

उपत्यकाको विभिन्न स्थानबाट मोटरसाईकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिहरूलाई पक्राउ गरिएको जानकारी ट्राफिक महाशाखाले जनाएको छ ।

किर्तिपुर नगरपालिका वडा नं ७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाईकल काठमाडौं चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामा हुलिया निवेदन दिएका थिए । महाशाखाले चोरी भएको उक्त मोटरसाईकलको नम्बर प्लेट परिबर्तन भएको अबस्थामा पक्राउ गरेको र वास्तविक नं. प्रदेश ३–०२–०१४ प ०३३९ रहेको बताएको छ । हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, किर्तिपुर पठाईएको महाशाखाले जनाएको छ ।