शुक्रबार, बैशाख १४, २०८१

महानगरका मुख्य मुख्य सडकमा आधुनिक सडक वत्ती जडानका लागि त्रिपक्षिय सम्झौता

काठमाडौ मंसिर २५,
काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ । प्रस्तुत सम्झौता मुलत काठमाडौं महानगरपालिको ६० प्रतिशत नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने गरि महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक वत्ती जडान गर्ने विषयगत एजेन्दामा केन्द्रीत रहेको छ ।

त्यस्तै उक्त सम्झौता अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य सम्पनन हुने भएको छ । त्यसैगरी चालु आवमा नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीको लागी आवश्यक रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा नेपाल विद्युत प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ ।

लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत प्राधिकरणले गर्नेछ । आयोजनाको निर्माण कार्य पश्चात मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य संगै सडक विभागले सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडकमा आवश्यकता अनुसारको पोल राख्ने स्थानको अनुमति दिने व्यवस्था गरिएको छ ।

सडक वत्ती जडान, सञ्चालन लगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिने, सोही संयन्त्रले सडक वत्तीहरुको संम्भाव्य विस्तार स्थलहरुको पहिचान, अध्ययन गरी ४५ दिन भित्र प्रतिवेदन पेश गर्ने, नयाँ सडक वत्तीहरुको जडान पश्चात जगेडा हुने सोलार प्यानल लगायत सामानहरुको जगेर्ना गर्दै पुर्नप्रयोगको व्यवस्था लगायतका विषय समेत सहमतिपत्रमा उल्लेख गरिएको छ ।

सहमतिपत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्यूत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्ऽ देव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका छन ।