शुक्रबार, बैशाख १४, २०८१

आजबाट मलमास सुरु, केहो मलमास ? मलमासमा किन शुभकार्य गर्नुहुँदैन ?

काठमाडौं असोज २, धर्मशास्त्रीय मान्यताअनुसार १२ महिना मध्ये अशुद्ध महिना मानिने मलमास आजबाट सुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  मलमासभर शुभकार्य गर्न नहुने धार्मिक मान्यता पनि छ ।

किंवदन्तीअनुसार अन्य समयमा १२ महिनाको अधिपति अरूण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ । त्यस्तै अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू हुदैनन् । यसै हुनाले महिनाभरी कुनै पनि विवाहादि कार्य व्रतवन्ध लगायतका कुनै पनि कार्यहरू छैनन । दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य पाठपूजा गर्नलाई चाहि कुनै छेकथुन हुदैन तर विवाह पछिको पहिलो वा विवाह गरेको वर्षमा पर्ने मलमासमा पतिको घरमा श्रीमती बसेमा सासूलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भई जन्मने शिशु रोगी हुने, धर्मग्रन्थमा उल्लेख गरिएकाले नवविवाहिताले मलमास बार्नुपर्ने मान्यता रहिआएको छ ।

केहो मलमास ?
वैदिक परम्परा अनुसार नेपालको इतिहासमा छैटौ शताब्दिदेखि सोह्रौ शताब्दीसम्मका अभिलेखहरूमा आषाढमा र पौषमा मात्र अधिकमास पाइन्छ । पछि आएर भने अनादी वैदिक परम्परालाई छोडी तेह्रौ शताब्दीको ज्योतिषफलबाट अन्य महिनाहरूमा पनि अधिकमास परेको उल्लेख गरेको पाईन्छ । पतिगृहमा विवाहदेखि पछिको पहिलो वा विवाह गरेको वर्षमा आउने महिना आषाढमा बस्ता बुहारीले सासू पिर्ने, पहिलो क्षयमासमा बस्ता आफ्नै शरीरलाई पीडा गर्ने, पहिलो जेठमा बस्ता जेठाजु पिर्ने, पैलो पुसमा बस्ता ससुरालाई पिर्ने पहिलो अधिकमासमा बस्ता पतिलाई पिर्ने, पहिलो चैतमा पितृगृहमा बस्ता आफ्नै बाउलाई पिर्ने कुरा मुहूर्तमार्तण्डदिकामा पाईन्छ । मुहूर्तमार्तण्डको १६२८ संवत्मा र मूहूर्तचिन्तामणिको १६५७ संवत्मा रचना भएको हो । यस्ता हुने नहुने कुराको प्रतिपादन गर्ने अरु सबै ग्रन्थ यी ग्रन्थहरूभन्दा पछिका देखिन्छन् । वैदिक परम्पराका प्राचीन ग्रन्थहरूमा यस कुराको प्रतिपादित देखिदैँन ।

मलमासमा के गर्ने ? के नगर्ने ?

मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको छ ।मलमासको समयमा महादान, माङ्गलिक कार्यअर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेशजस्ता गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।

३६५ दिनको एक वर्ष वा १२ महिना हुन्छ । सूयको गतिअनुसार गणना गरिने मासलाई [महिना] सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा संक्रान्ति देखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक पहिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुछन् भने, चन्द्रमास अनुसार दिन गणना ३५४ दिन मात्र हुन्छ । सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार ११ दिन बढी वर्षमा हुने गर्दछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ वा आउँछ । यस क्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास वढि हुन पुग्छ ।

त्यस्तै ज्योतिषशास्त्रका अनुसार अधिकमास भन्नाले जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्यसलाई भनिन्छ । त्यस्तै जुन चन्द्रमासभित्र २ वटा सूर्य संक्रान्ति पर्दछ, त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ । यस्ता ग्रहगत अधिकमास र क्षयमासका समय समायोजन गर्ने कार्यहरूमा अन्न विभिन्न स्थानमा बेग्ला बेग्लै विधि र किसिम पनि पाईन्छ । यसै सौरमास र चन्द्रमासलाई तीन वर्षमा समायोजन गरिने हुदा यस अवधिलाई अधिकमास भनेर भनिएको हो । सौरमास जब सूर्य–चन्द्रमाको गतिमा आधारित हुने र चन्द्रमास तिथिमा आश्रित हुने भएकाले सौर्यमास जस्तो चान्द्रमास सामान्यतय गतिमा निश्चित हुदैन । यहि नियम अनुसार अधिकमास वा महिना बृद्धि हुने हुन्छ । अधिकमास खासै यहि महिनामा हुन्छ भनेर हुदैन । चान्द्रमासको गति अनुसार जुनसुकै महिनामा पनि पर्न सक्छ । “सर्वेषु मासेष्वधिमासकः स्यात” भन्ने प्रमाणबाट अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्छ ।

मलमास वा अधिकमास त्यस्तो कुनै डरलाग्दो अशुभ समय भने चाहि होईन । वर्ष दिनलाई ठीकसँग मिलाउनकोलागि मलमास र क्षयमास आउने गर्दछ । पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट वर्षलाई कायम गर्ने गरिन्छ । लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चान्द्रमासको गतिमा निर्धारण हुने गर्दछ । हाम्रो समाजमा कसैको जन्म मृत्यु अधिकमासमा भयो भने यसलाई राम्रो नमान्ने चलन छ । कसैको मृत्यु र जन्म हुनु स्वभाविक हो तर अधिक मासमा मृत्यु वा जन्मलाई वार्षिक रुममा मनाउन समय केलाउनु पर्ने हुन्छ । यसै हुनाले पनि नराम्रो हो भन्ने मान्यता रहेको हो । ‘तीथ्यर्धे प्रथमे पूर्वोऽपरस्मिन्नपरस्तथा, मासाविति बुधैश्चिन्त्यौ क्षयमासस्य मध्यगौ’ अधिकमासमा जन्म वा मृत्यु भएमा अधिक पक्षको जुन तिथि छ शुद्ध पक्षको त्यहि तिथि कायम हुने प्रमाण पाईन्छ । क्षयमासकालगि भने शुक्लपक्षको पहिलो महिना र कृष्णपक्षको पछिल्लो महिना गणना गरिन्छ । त्यसमा पनि तिथिमानलाई दुई भागमा गरी तिथिको पूर्वाद्धमा जन्म वा मृत्यु त्यसको जन्म दिन वा मरणतिथि पहिलो महिनाको सोहि तिथि तथा उत्तराद्धमा जन्म वा मृत्यु भएमा पछिल्लो महिनाको समानपक्षको सोहि तिथि त्यसका लागि जन्मतिथि वा मरणतिथि हुने शास्त्रिय प्रमाण पाईन्छ ।

यसैवीच मलमासको समयमा दैनिक विहान बेलुकाको पूजा र पुरुषोत्तम पूजा र कथा श्रवण भने गर्न मिल्ने धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यस अवसरमा मच्छेनारायणमा मेला लाग्ने गर्दछ भने टोलटोलमा समेत कथा भन्ने प्रचलन रहिआएको छ । तर यसपटकको मलमासमा बढ्दो कोभिड संक्रमणको जोखिमका कारण कुनै पनि किसिमको भिडभाड नर्गन प्रशासनले यसअघिनै जारी गरेको आदेशका कारण कथा प्रवचनको संभावना भने निकै कम रहेको छ भने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा लाग्ने मेला पनि यस वर्ष स्थगित गरिएको छ ।