नल राजा दमयन्ती रानीको प्रेम कहानीमा आधारित नाच प्रर्दशन
-शरण डंगोल
काठमाडौं मार्ग १३ , नेपाललाइ मन्दिरै मन्दिरको देश, जात्रैजात्राको देश, विभिन्न भाषा भाषिको देश, परम्परागत कला संस्कृतिले पर्याय देश आदि इत्यादिले चिनिन्छ । परम्परा र संस्कृतिले देशलाई जीवन्त राख्छ । यसैक्रममा झण्डै ६सय जनसंख्या रहेको मकवानपुर जिल्लाको चित्लाङको कपु गाउँले पनि यहि देशको एक अभिन्न परिचयको सहित नेपालको राष्ट्रिय तथा अन्तराष्ट्रियक्षेत्रमा पर्यटनको समेत पर्वद्धन गर्दै आएरहेको छ । मुलत कपु गाउँमा मनाइने कार्तिक नाच, गाईजात्रा, रोपाई जात्रा, कृष्ण जात्रा, रामनवमी जात्रा मध्ये कतिपुन्ही प्याखँ अर्थात (कार्तिक नाच) पनि एक महत्वपूर्ण) पर्वको रुपमा रहेको छ । कतिपुन्ही प्याखँ (कार्तिक नाच) पहिले पहिले हरेक वर्ष नचाइन्थ्यो भने तत्पश्चात ३-३ वर्षमा, पछि फेरि ६-६ वर्षमा मनाउँदै यो साल १३ औं वर्षमा धुमधामका साथ मनाइयो ।
जम्मा न्याखँ (५ पल्ट) नचाइने यो जात्रा २०७३।८।११ र १२ गते अन्तिम नाच कपु गाउँको गणेद्यो खँ नचाई समाप्त भयो । यस अघि यो वर्ष यस कपु गाउँको विभिन्न टोलमा नासःखँ चपार, महालक्ष्मी खँ नानिचाख्यँ (त्वाकंछेँ), गणेद्यो खँ गणेशस्थान, भैरब खँ दोबाछँ र अन्तिम नाच गणेद्यो खँ को नाच नचाईएको थियो । स्थानीय बलराम बलामीले हाम्रा सहकर्मीसंग प्रस्तुत नाचको वारेमा जानकारी दिदै आफु लगायत ५० भन्दा बढी बलामी जातीको सहभागितामा २ महिना सम्म नाच सिकाईएको थियो । खिं, झ्याली, ताः, प्वंगा, मुहाली लगायत गुजराती बाजाहरुको तालमा विभिन्न श्लोकको संयोजनबाट बलामी जाती र बलामी गाउँबस्तीमा परापूर्वकालदेखी देखाउदै आईरहेको नाच कतीपुन्ही प्याखं (कार्तिक नाच) धेरै नै पुरानो भएको । तर प्रामाणिक रुपमा कुनै दस्तावेज नभएको बताए ।
किंवदन्ती अनुसार गाउँ बस्तीमा रोगव्याधी अनिष्ट नलागोस भनेर यस्ता नाच देखाइने त्यस्तै यसरी देखाइने नाच दुइ खण्डमा विभाजन गरिने जानकारी दिदै बलामीले भने नाचको प्रथम खण्डमा देबता गण, कवं, ख्याक, सीकाली, बूढाबूढी, माझी, पोडे आदिको नाच प्रदर्शन गरिन्छ भने दोश्रो खण्डमा नितान्त पौराणीक कथामा आधारित राजकथामा आधारित श्लोकमय हिन्दी मैथिली भाषा प्रयोग भएको साङगेतीक नृत्य नाच देखाइने जानकारी दिए । जुन नाच मार्मिक एवम् ह्दयस्पर्सी रहेको छ यसपटक नल राजा दयमन्ती रानीको प्रेम कहानीमा आधारित नाच प्रर्दशन गरिएको थियो । नाचको सार यस्तो रहेको छ ।
नल राजा प्रतापी मात्र थिएन उनी निकै आकर्षक पुरुष थिए, अर्को देशका राजा भीमकी छोरी दयमन्ती पनि अतिनै राम्री थिइ । उनी पनि नल राजालाइ मनपराउछिन् । भीम राजाले राजकुमारीको स्वयम्बर उदघोष गर्छन्, त्यसमा स्वर्गका देवता इन्द्र, अरुण, बरुण, यमको आगमन हुन्छ । बिच बाटोमा भेट भएको राजा नललाइ ती देउताहरुले छकाइ बचन लीइ दमयन्ती समक्ष गएर आफुहरु मध्येबाट एक संग बिबाह गर्नु पर्ने शर्त लिएर राजा नललाई जान बाध्य पार्छ । तर राजकुमारीले आफुले केवल नललाई मात्र चाहेको खबर पठाउछ । ईन्द्रले ती दुईको बिबाह गराई दिन्छन् र उनीहरुका राजकुमार राजकुमारी समेत हुन्छन् यद्यपी यो कुरा मन नपराएका राजा कलीले नल राजाको शरीरमा प्रबेश गरी नलको भाई पुष्करलाई जुवा खेल्न उक्साउछन् । शरीरमा कलीको प्रबेश हुनाले नल राजाले सबै हार्छन् र बनवास जान्छन् । बनवासमा लगाइराखेको लुगा समेत चराहरुले लिइ जान्छन् र राजा नांगो हुन पुग्छ । आफ्ना कारण आफ्ना प्रिय दमयन्तीले दुख पाएको सोची राजा उनलाई छोडी अन्तै हिड्छ । रानी ऋषीको शरणमा जान्छन् र पछि माइत फर्किन्छन् । यता नल राजा जंगल घुम्दै जाँदा आगोको बीचमा फसीरहेको कर्कोट नागलाई बचाउछन् तर नागद्वारा डसीन्छ ताकि उनको शरीरबाट कली निक्लेर जाओस् ।
तत्पश्चात नलराजाको रुप नै बिरुप पनि भयो । कर्कट नागले राजा नललाई तिमी अयोध्याका राजा रीतपन्नकोमा गएर सारथी भई काम गर्नु र राम्रो सित जुवा सिक्नु र पुस्कर राजासित फेरी जुवा खेली राज्य फीर्तालिनु । यस कार्यका लागी एउटा कोट पनि दिन्छु जुन लगाउना साथ तिमी आफ्नो वास्तविक रुपमा आउनेछौ । सबै नागले भने अनुसार नै हुन्छ । कली र नल बिच युद्ध पनि नलले जित्छ । भीम राजाले पुन आफ्नी छोरीको बिबाह आयोजना गर्छ, त्यहा समेत नल राजा पुगी दमयन्तीलाई बिहा गरी आफ्नो राज्य फर्किआउछ । नाचको अन्तमा सम्पूर्ण नर्तकहरु एकैपटक नचाएर सकाउछ । तर त्यस लगतै मुख्य देउता नाच्दै बोकाको रगत भोग खान्छ । देउताको नाच बती बाली लग्छ र सकिन्छ । गुरु लगायत सबैलाई सगुन र फेटा बाडेर सम्मान गर्छ ।