बुधबार, बैशाख २६, २०८१

टिस्टुङमा बज्रबाराहीको मेला धुमधामका साथ मनाईदै

शरण डंगोल/ टिस्टुङ ज्येष्ठ ४, प्रत्येक ३ को अन्तरालमा राजधानी देखि उत्तरी क्षेत्र अर्थाथ मकवानपुरको टिस्टुङमा लाग्ने बज्रबाराहीको मेला शनिबारदेखि सुरु भएको छ । तीन दिनसम्म मनाईने यो मेलामा शक्ति प्रदायक एवम् मनोइच्छा पूरा गर्ने जनविश्वास सहित बज्रवाराही देवीको धुमधामका साथ पुजाअर्चना र जात्रा गर्ने गरिन्छ ।

स्थानीय भक्तजनहरुका अनुसार मेलाको पहिलो दिन शनिबार बज्रवाराहीको रथलाई देउलाटोलबाट मन्दिरमा लगि मध्यरातमा विधिपूर्वक पुजाआजा सहित राँगा, बोका, भाले, चराचुरुंगी, माछा, भेडा, सर्प, किरा फट्यांग्राको वली दिने परम्परा रहेको   बताएका छन ।  एवम् रितले लगातार तीनदिनसम्म मनाईने यो मेलाको अवसरमा पञ्चबली दिइन्छ भने पुजाका क्रममा कुखुराको भालेलाई वली दिने र पोथीलाई पुजा मात्रै गरेर त्यसै छाड्ने प्रचलन रहेको बुझिएको छ । त्यस्तै जात्रा संचालनका लागि १३ वटा गुठीहरुको व्यवस्था गरिएको छ । देउला समुदायको विशेष भूमिका रहने मेलाको दोस्रो दिनलाई मुख्य दिनको रुपमा लिइन्छ । मेला अवलोकन गर्न टिस्टुङ, पालुङ, दामन, हेटौंडा, कुलेखानी, काठमाडौं, चित्लाङ, धादिङ् लगायतका क्षेत्रबाट ठूलो मात्रामा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । जात्राको अन्तिम दिन मन्दिरबाट रथ फर्काएर विभिन्न टोलहरुको परिक्रमा गराउँदै देउला टोलमा लगेर समापन गरिन्छ ।