मङ्लबार, बैशाख १८, २०८१

शिक्षा अधिकारी भट्टसहित छ जनाविरुद्ध आर्थिक हिनामिना गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं चैत १२,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसहित छ जनाविरुद्ध पद दुरुपयोग गरी आर्थिक हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालले आइतबार जारी प्रेस विज्ञप्तिमा नियुक्तिपत्र नै नभएको गैर शिक्षक मनकाकुमारी अवस्थीलाई ‘हुनैनाथ आधारभूत विद्यालय सल्सेना’ को व्यवस्थापन समितिबाट कुनै कागजात बिना नियुक्ति दिइएको उल्लेख गरिएको छ ।

त्यस्तै आरोपित भट्टले प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई आफैँले स्वीकृत गरेर सो विद्यालयदेखि बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरी तलबलगायतका सुविधा निकासा हुँदा ७४ हजार ९२० रुपियाँ सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी पुराएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

मुद्धा दायर गरिएका अन्यमा जिल्ला शिक्षा कार्यालयका तत्कालीन प्राविधिक सहायक स्व: सञ्जय ठाकुर दनुवार, मनकाकुमारी अवस्थी ,जिल्ला शिक्षा कार्यालयका तत्कालीन स्रोतव्यक्ति हरिनाथ र बलैराज निमा विद्यालय, बैतडीका प्रधानाध्यापक नरबहादुर कुँवर रहेका छन ।