मङ्लबार, बैशाख १८, २०८१

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने,क-कसले दिँदै छन्  विश्वासको मत ?

काठमाडौं चैत्र ६,
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विश्वासको मत लिनेछन् । नेकपा [एमाले] र राष्ट्रिय प्रजातन्त्र पार्टी [राप्रपा] ले सरकारको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । कुल २७५ सदस्यीय संसद सदस्य मध्ये विश्वासका मतका लागि प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ ।

गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाएका थिए ।

यसैवीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासका मतका लागि ११ दलले समर्थन जनाउने यसअघि नै घोषणा गरेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने जनाए पछि दलको सङ्ख्या ११ पुगेको हो ।

जसअनुसार १० दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका हुन । उता, गठबन्धन बाहिरको रास्वपाले पनि विश्वासको मत दिने आइतबार निर्णय गरिसकेको छ ।