बिहिबार, बैशाख २०, २०८१

उपराष्ट्रपति निर्वाचन लक्षित हुँदै काँग्रेसले डाक्यो बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं फागुन ३०,
आगामी चैत ३ गते सम्पन्न हुने उपराष्ट्रपतिको निर्वाचन लक्षित हुँदै नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ ।

बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी नगरमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यस्तै मुख्य सचिव पौडेलले बुधवारको बैठकमा उपराष्ट्रपति निर्वाचन संगै मुलुकको पछिल्लो राजनैतिक घटनाक्रमका विषयमा छलफल हुने बताउनुभयो । 

यसैवीच राष्ट्रपति निर्वाचन लक्षित हुँदै बनेको नयाँ राजनैतिक दश दलीय गठबन्धन अन्र्तगत आसन्न उपराष्ट्रपति निर्वाचनमा दुई दलको तर्फबाट छुट्टाछुट्टै उम्मेदवार भएपछि गठबन्धनमा देखिएको समस्याको समेत सम्बोधन गर्दै काँग्रेसले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ ।

स्मरण रहोस, आसन्न निर्वाचनमा दश दलीय गठबन्धन आवद्ध जसपाबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा चुनावी मैदानमा छन् । यसवीचमा जसपाकै हर्का उम्मेदवार प्रमिलाकुमारी यादवले भने उम्मेदवारी फिर्ता लिएको जनाएकी छन् ।