मङ्लबार, बैशाख १८, २०८१

चलचित्र क्षेत्रलाई आवश्यक सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर : प्रहरी नायव महानिरीक्षक राई

काठमाडौं पुस २१,

 नेपाल प्रहरी र नेपाल चलचित्रकर्मी एवम् चलचित्रविज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । अन्तरक्रियामा वोल्दै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले प्रहरीको प्रमुख दायित्व नागरिकको जीउधनको सुरक्षा गर्ने भएकोले प्रहरी राम्रो भएमा मात्र समाज राम्रो हुने र प्रहरीलाई नकारात्मक चरित्रको रूपमा मात्र प्रस्तुत गर्दा प्रहरी सेवा प्रति नागरिकको आकर्षण कम हुनसक्ने प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

यद्यपी प्रहरी , कलाकार र चलचित्र क्षेत्रबीचको समन्वय र सहयोग संगै चलचित्र क्षेत्रलाई आवश्यक सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर रहेको उहाँले बताउँदै चलचित्रको सिर्जना र कथा मर्नु हुँदैन भन्नेतर्फ समेत नेपाल प्रहरी सजग रहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीले चलचित्र छायांकनको क्रममा प्रहरीसँग सम्बन्धित हातहतियार, पोशाक, सवारीसाधन र छायाकंनस्थलको प्रयोगलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीको महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले चलचित्र छायाकंनको क्रममा र हलमा फिल्म लागेको पहिलो दिनमै मोबाइलमार्फत दृश्य खिचेर युटुबमार्फत प्रसारण गरिदिनाले निर्माताको करोडौं नोक्सान भएकोले यसलाई नियमन गर्न प्रहरीको सहयोगको समेत अपेक्षा गर्नुभयो ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का वरिष्ठ कलाकार निर शाह लगायतले आआफ्नो धारणा राख्नुभएको उक्त कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण मल्ल, वरिष्ठ संगितकार सम्भुजित बास्कोट, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र निर्माण संघ, गितकार संघ नेपाल, द्वन्द्व कलाकार संघ, टेलिभिजन कलाकर्मी मञ्च लगायत संस्थाका अध्यक्ष तथा पदाधिकारीहरू, चलचित्र विज्ञहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।