बुधबार, बैशाख १९, २०८१

नेपाल बारद्धारा प्र.न्या. जबराविरुद्ध देशव्यापी आन्दोलनको घोषणा [यस्तो छ आन्दोलनका कार्यक्रम]

काठमाडौं मंसिर ४ ,
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आइतबारदेखि शुक्रबारसम्म देशब्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । बारले आज जारी गरेको विज्ञप्तिमा देशभरका बार इकाइलाइ पत्र लेखी मंसिर ५ गते आइतबारदेखि मंसिर १० गते शुक्रबारसम्म आन्दोलनको कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।

उक्त आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार देशभरका बार इकाइले अदालतभित्र दंगा प्रहरी प्रवेश गराउने, कानुन व्यवसायीको शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहितको दंगा प्रहरी तैनाथ गर्ने र कानुन व्यवसायीमाथि दमन र कुटपिट गरेको विरोधमा बहस बहिस्कार गर्न आग्रह गरिएको छ ।

त्यस्तै सोमबार देशभरका अदालतमा विहान १० देखि १२ बजेसम्म कालोपट्टीसहितको धर्नालाई निरन्तरता दिने, मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने बारले निर्णय गरेको छ भने बुधबार उच्च अदालत र उच्च अदालतका इजलासमा विरोधसभा आयोजना गर्ने, बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने बारले निर्णय गरेको छ भने बारले मंसिर २४, २५ र २६ पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन पनि स्थगित गरेको छ ।