सोमवार, बैशाख २४, २०८१

कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न

तस्बिरः प्रदीपराज वन्त / रासस

काठमाडौ वैशाख १२,
प्रधानमन्त्री पुष्पकमल दाहाल र दुई दिने राजकीय भ्रमणका लागि मङ्गलबार नेपाल आउँनुभएका कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको छ । राजधानीस्थित सोल्टी होटलमा द्विपक्षीय भेटवार्ता भएको हो ।  भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार रुपक सापकोटाले जानकारी दिनुभयो ।

द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायत मन्त्रीहरु हुनुहुन्थ्यो । भेटवार्ताको क्रममा प्रधानमन्त्री दाहालले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको जानकारीसंगै कतारमा कार्यरत नेपालीहरू नेपाल–कतारबीच रहीआएको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता सम्बन्धलाई अझ मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले इजरायल र हमासबीच भएको द्वन्द्वका क्रममा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीलाई सुरक्षितरूपमा नेपाल ल्याउन पहल गरिदिन अनुरोध गर्नुभयो ।

त्यस्तै लगानीका लागि नेपाल विश्वकै आकर्षक गन्तव्य’ नेपाल लगानीकर्ताका लागि विश्वकै सर्वाधिक आकर्षक ठाउँमध्येको एक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कृषि, खानी, ऊर्जा र जलविद्युत्, पूर्वाधार विकास, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र सेवा तथा सत्कार क्षेत्रहरू वैदेशिक लगानीका लागि उपयुक्त रहेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री दाहालले कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रहसंगै नेपाली श्रमिकको सुरक्षाको विषयमा समेत ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै आर्थिक विकास नेपालको प्राथमिकता भएको उल्लेख गर्दै सन् २०२६ मा अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नतिलगायतका विकासका आकाङक्षा पूरा गर्नका लागि मित्रराष्ट्र तथा विकास साझेदारबाट निरन्तर सहयोगको अपेक्षा गरेको बताउनुभयो ।  साथै उहाँले जलविद्युत् उत्पादन, अस्पताल तथा स्वास्थ्य संस्था वा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट तथा फुटबल रङ्गशालाजस्ता ठूला पूर्वाधार परियोजनाको विकासका लागि कतार सरकारबाट अनुदान प्राप्त हुने विश्वास व्यक्त समेत व्यक्त गर्नुभयो ।  भेटवार्तापछि दुई देशबीचका सञ्चार, खेलकूद, विज्ञान प्रविधि, उद्योग वाणिज्यलगायतका विषयमा पनि सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ ।