मङ्लबार, बैशाख १८, २०८१

गम्भीर भएर सोचौँ, सबै मिलौँ, कसैले कसैलाई निषेध नगरौँ  :पूर्वराजा शाह

 काठमाडौं बैशाख १,

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको इतिहासमा विधि, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ

नयाँ वर्ष २०८१ को अवसरमा जारी शुभकामना सन्देशमार्फत पूर्वराजा शाहले व्यवस्था बदलिए पनि देशमा गुणात्मक परिवर्तन हुन नसक्नु जनताको सुख समृद्धिमा सुधार नहुनु चिन्ताको विषय भएको जिकिर गर्दै यसवीचमा न देशको गौरब गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ। जान्ने बुझ्ने बुढापाकाहरु अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौंतारिनु परेको बताउनुभएको छ ।

त्यस्तै देशको युवा शक्ति पलायन हुँदै जानु गम्भीर विषय भएको भन्दै ‘देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण विषय हो। शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको ब्यवस्था खस्किँदै जानु आजको विडम्बना भएको जिकिर गर्नुभएको छ।

साथै ’उन्नत राजनीतिक विधि विधानले उच्चत्तम उपलब्धि र आशा जगाउन सक्नु पर्दछ। जनतामा उत्साह पैदा गर्न सक्नु पर्दछ। तर हामीकहाँ दाँयाबाँया जता पनि लाग्ने, निश्चित गन्तव्य र गतिमा अडान राख्न नसक्ने अस्थिर अवस्थाले आफ्नै आशा आकांक्षा र भरोसा खल्बलिँदै गएको भन्दै उहाँले यस्तो हुनु राष्ट्रिय चिन्ताको विषय भएको जिकिर गर्नुभएको छ । त्यसअर्थमा अब त्यो सबै कुराको पुनरावलोकन गरौँ, गम्भीर भएर सोचौँ, सबै मिलौँ, कसैले कसैलाई निषेध नगरौँ र सही चिन्तनको माध्यमबाट निष्कर्षमा पुग्नका लागि आव्हान समेत गर्नुभएको छ।