बिहिबार, बैशाख २७, २०८१

होली पर्वलाई सुरक्षित बनाउन उपत्यका प्रवेश गर्ने नाकासंगै चोक-चोकमा सवारी चेकजाँच

 काठमाडौं चैत ११,

रंगहरुको पर्व होलीलाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले आज आइतबार राजधानीका ९० स्थानमा सवारी चेकजाँचको व्यवस्था गरेको जनाएको छ।

त्यस्तै सवारी चेकजाँच र सुरक्षाको लागि ९०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको जानकारी दिदै ट्राफिक प्रहरीका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले उपत्यकाका तीनवटै जिल्लाको सडकमा दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक र गल्लीमासमेत अधिकतम ट्राफिक प्रहरी परिचालन संगै उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

त्यस्ते ट्राफिक प्रहरीका प्रवक्ता श्रेष्ठकाअनुसार मादकपदार्थ र लागूपदार्थ सेवन गरेर सवारी चलाउनेलाई विशेष निगरानीसंगै होलीमा अनावश्यक हर्न बजाउने, नियमविपरीत सवारीसाधन चलाउने, हेलमेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने जनाउसंगै कसैको इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल लगाउँने र मादकपदार्थ र लागूपदार्थ सेवन गरेर सवारी चलाउनेलाई विशेष निगरानी सहित कारवाही गरिने बताउनुभयो ।