बिहिबार, बैशाख २७, २०८१

राष्ट्रियसभाका अध्यक्ष सहित २० सांसदको कार्यकाल आजबाट सकिँदै

काठमाडौं फागुन २०,
संघीय संसदअन्तर्गत माथिल्लो सदन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित २० सांसदको पदावधि आजबाट सकिँदै छ । राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद ६ वर्ष कार्यकालका लागि २०७४ सालमा निर्वाचित भएको थियो ।

आज पदावधि सकिने सूचीमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना तथा एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राईको कार्यकाल सकिँदै छ ।

त्यस्तै कांग्रेसका चार सांसदहरू रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महराको पनि आजैबाट कार्यकाल सकिदैछ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नन्दा चापाई, सिंगबहादुर विश्वकर्मा, खिमलाल देवकोटा, जसपाबाट प्रमीलाकुमारी र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको कार्यकाल पनि आज सकिने छ ।

रिक्त हुने बीसमध्ये मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एक सदस्य वाहेक १९ जना सदस्यको गत माघ ११ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भइसकेका छन् ।

५९ सदस्यीय राष्ट्रियसभाका लागि २०७४ सालमा नयाँ संविधान जारी भएपछि ५६ सदस्य निर्वाचित भएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए ।