बिहिबार, बैशाख २७, २०८१

क्यूआर कोडको प्रयोगलाई विस्तार गर्दै नेपाल प्रहरी

 काठमाडौं फागुन १७,

 आम नागरिकले गुनासो, पिरमर्का, उजुरी तथा सुझाव लगायतका प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्नो सूचना दिन सक्ने क्यूआर क्विक रेस्पोन्स कोडको व्यवस्थालाई नेपाल प्रहरीले विस्तार गर्दै लगेको छ । उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा क्यूआर कोड ल्याइएको हो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गत असोज ६ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा क्यूआर कोडको प्रयोग सार्वजनिक गरेसंगै यसको सवस्त हुँदै आएको हो ।

देशभरका १ सय ८९ प्रहरी कार्यालय क्यूआर कोडको सेवा विस्तारित रहेको जानकारी दिदै प्रहरी मसख्यालयले पछिल्लो समय नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखामा १ वटा,काठमाडौं उपत्यका अन्तर्गत १२ वटा, कोशी प्रदेश अन्तर्गत २० वटा, मधेश प्रदेश अन्तर्गत १ वटा, बागमती प्रदेश अन्तर्गत ६ वटा, गण्डकी प्रदेश अन्तर्गत २ वटा, लुम्बिनी प्रदेश अन्तर्गत ४ वटा, कर्णाली प्रदेश अन्तर्गत १६ वटा र सुदूरपश्चिम प्रदेश अन्तर्गत ११६ वटा प्रहरी कार्यालयहरूमा क्यूआर कोडको व्यवस्था रहेको जनाएको छ ।

 नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउँदै लैजाने नीति अनुरूप क्यूआर कोडको व्यवस्था गरिएको हो । यसलाई थप सशक्त, सेवामुखी र प्रभावकारी बनाउन परम्परागत रूपमा दिइने सेवालाई आम सेवाग्राहीहरूको सहजता र पहुँच कायम गराउन आवश्यक रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले बताए ।

नागरिकको गुनासो क्यूआर कोड मार्फत सिधै सम्बन्धित प्रहरी कार्यालय प्रमुख समक्ष पुग्ने गर्छ । जसको कारण प्राप्त विषयवस्तुको कार्यान्वयन गर्न ढिलाई हुँदैन । यसले प्रहरी सेवालाई छिटो छरितो, व्यवस्थित, जवाफदेही, पारदर्शी र जिम्मेवारी बोध गराई नागरिक सम्बन्ध सुमधुर बनाउन र सुशासन कायम गर्न मदत पुग्छ । क्यूआर कोडको व्यवस्था पश्चात हालसम्म जम्मा १ सय ३६ वटा उजुरी प्राप्त भएका छन् । तीमध्ये १ सय १४ वटा फर्छ्यौट भइसकेका छन् भने २२ वटा कार्यान्वयनको चरणमा रहेको   उहाँले बताउनुभयो ।

 साथै क्यूआर कोड मार्फत प्राप्त उजुरीमा पूर्ण गोपनिय रहने जनाउसंगै प्रहरी नायव महानिरीक्षक ढकालले “प्रहरी सेवा प्रवाहलाई प्रभावकारी र आमनागरिक माझ पारदर्शी एवम् गुनासो सम्बोधन गर्ने लक्ष्य रहेको छ । यसले सुरक्षा प्रतिको विश्वास बढाउनुको अलावा छिटो र सहज सेवा प्रवाह र समयको सदुपयोग हुने बताउनुभयो ।