बिहिबार, बैशाख २०, २०८१

निःशुल्क उपचार सेवा निर्देशक समिति गठन

काठमाडौं माघ २२
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । आज प्रमुखको कार्यकक्षमा बसेको सरोकारवाला कार्यालयका प्रतिनिधिहरुसहितको वैठक पछि समिति गठन गरिएको हो ।

गठित समितिको सदस्यमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, यस्तै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन संघीय स्वास्थ्य मन्त्रालयकातर्फबाट एकदेव खनाल, प्रदेश स्वास्थ्य मन्त्रालयकातर्फबाट खगेश्वर गेलाल, नेपाल मेडिकल काउन्सिलकातर्फबाट बिश्वराज दवाडी, निजी स्वास्थ्य संस्थाहरुकोका छाता संगठन (एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपाल) का वागमती प्रदेश अध्यक्ष चण्डेश्वर वैद्य, नेपाल नर्सिङ्ग काउन्सिलकातर्फबाट शुक्ला खनाल , सरकारी अस्पतालहरुका प्रमुखमध्ये कान्ति अस्पतालबाट पङ्कज राय सदस्य रहनुभएको छ भने समितिको सदस्य सचिव स्वास्थ्य विभागका प्रमुख सजिना महर्जन रहेका छन ।

लक्षित वर्गलाई अस्पतालहरुबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउन निर्देशक समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र जनस्वास्थ्य विभागले कार्यान्वयन गर्ने जानकारी दिइएको छ । साथै समितिको प्रभावकारी कार्यान्वयनका लागि यसअघि महानगरपालिकाले निःशुल्क उपचार सम्बन्धी कार्यविधि, २०८० जारी गरिसकेको छ ।

बैठकपछि महानगर प्रमुख साहले ‘सेवा दिन पनि र लिन पनि सहज होस भन्ने हाम्रो उद्देश्यसंगै कानुनले दिएको अधिकारको कार्यान्वयन गराउन स्वास्थ्य संस्थालाई सहज होस, लक्षित वर्गले निःशुल्क उपचार प्रभावकारी रुपमा प्राप्त गर्न सकुन भन्ने लक्ष्य अनुरुप समितिको गठन गरिएको बताउनुभयो ।