सोमवार, बैशाख ३, २०८१

चौधरीलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं माघ २२ ,
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा परेका उद्योगपति अरुण चौधरीलाई अनुसन्धानका लागि थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो [सीआईबी] ले चौधरीलाई माघ १८ गते पक्राउ गरी सोही दिन थप अनुसन्धानका लागि भन्दै अदालतबाट चार दिन हिरासतमा राख्न अनुमति पाएको थियो । अदालतले आज पुन: चौधरीलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति दिएको हो ।

यसअघि प्रहरीले हिरासतमा राख्न अनुमति लिएको ४ दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई सोमबार जिल्ला अदालत काठमाडौंमा सीआईबीले पेस गरेको थियो । जिल्ला न्यायाधीश आचार्यको इजलासले उनीहरुलाई अब दुई दिनभन्दा बढी हिरासतमा नराख्न आदेश संगै अनुसन्धान गर्न समय आवश्यक परे हिरासतबाहिर राखेर कारबाही अगाडि बढाउन भनेको छ ।

 चौद्यरीसंगै बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर सीआईबीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।