बुधबार, मंसिर २०, २०८०
Dashain

आज छठपर्वको मुख्यपूजा- सँझिया घाट धुमधामका साथ मनाइदैँ

फाइल फोटो

 आदिदेव नमस्तुभ्यं प्रसीदमम् भास्कर। दिवाकर नमस्तुभ्यं प्रभाकर नमोऽस्तुते।

 काठमाडौं कात्तिक  ३ ,
आज छठ पर्वको मुख्यपूजा अर्थात सँझिया घाट धुमधामका साथ मनाइदैँ छ । आजको दिन मुलत पानीसमेत नपिई निराहार बस्दै साँझ ५:१० मिनेट २९ सेकेण्ड बजे सूर्यास्तको समयमा नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यको पूजा अर्चना सहित ऊँ सूर्याय नमस्, ऊँ आदित्याय नमस्, ऊँ नमो भास्कराय नमस्। अर्घ्य समर्पयामि।। भन्दै अर्घ दिने गर्दछन् ।

छठमातालाइ वर्तालुले नियम निष्ठाका साथ पकाएका ठेकुवा, भुसुवाका साथै मिठाइ, केरालगायतका सामग्री सूर्यदेवलाई दर्शन गराई अर्घको रुपमा अर्पण गर्ने नियम रहेको छ ।

त्यस्तै प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा बेहुली झै सिंगारिएकॊ घाटमा रातभर भजन किर्तन र नाचगान समेत गर्ने प्रचलन रहिआएको छ ।

यसअघि विहिवार ब्रतालुहरुले खरना पूजा गर्दै राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाएका थिए । छठमा विशेषगरि पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, उखु, केरालगायतका सामग्री प्रसादका रुपमा अर्पण गर्ने प्रचलन रहिआएको छ । त्यस्तै भोली प्रातकालमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै विधिवतरुपमा यो पर्व सम्पन्न गरिन्छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । त्यस्तै सूर्य पुराणमा उल्लेखभएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको प्रसंगको उठान सहित त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख गरिएको छ । समग्रमा छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहिआएको छ ।

छठ पर्वको अवसरमा राजधानीको टङकेश्वर, गुहेश्वरी, गहनापोखरी, त्यस्तै गरि ललितपुरको शङखमूल र भक्तपुरको हनुमानघाट लगायतका जलाशयमा अस्ताउँदो सुर्यलाई अर्घ दिनेहरुको साँझ भिड लाग्ने गर्दछ । छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031