बिहिबार, बैशाख २७, २०८१

लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव प्रम प्रचण्ड : {भिडियो सहित}

काठमाडौं जेठ १५ ,
आज १६ औं गणतन्त्र दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने घोषणा गरेको थियो । जनआन्दोलनको बलमा युगौंदेखिको राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी देशमा गणतन्त्र घोषणा गरिएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते नेपालमा गणतन्त्र दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा आज राष्ट्रपति रामचन्द्र  पौडेलको  प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित औपचारिक कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री  प्रचण्डले नेपाली जनताले इतिहासका विभिन्न कालखण्डमा गरेका बलिदानीपूर्ण सङ्घर्षको जगमा विसं २०६५ जेठ १५ गते तत्कालीन संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको स्मरण गर्दै ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

त्यस्तै उहाँले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताउँदै हामी आज स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । जनताबाट चुनिएका जनप्रतिनिधिबाट आज मुलुकको शासनप्रणाली सञ्चालित भइरहेको छ । विना भेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुनसक्नु गौरवको विषय भएको जिकिर गर्नुभएको छ।

त्यस्ते यस बीचमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षडयन्त्र पनि भइरहेका छन् । संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयास कदापि सफल हुने छैनन् भन्दै उहाँले संविधानले निर्दिष्ट गरेअनुरुप समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु जरुरी रहेको बताउनुभएको छ । सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि फेरि राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिन सबैलाई अपिल गर्नुभएको छ । भिडियो साभार: नेपाल टेलिभिजन