आइतवार, बैशाख २३, २०८१

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भइ मतदान गर्न आयोगको अपिल

काठमाडौं वैशाख ९,
निर्वाचन आयोगले आइतवार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएकोछ ।  त्यस्तै आयोगले आइतवार बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान केन्द्रमा उपस्थित भई निधक्क भइ मतदान गर्न मतदाता समक्ष अपिल समेत गरेको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले विशेष सजगता अपनाइएको जनाउ सहित मतदानको समयमा मौसमी प्रतिकूलताबाट हुनसक्ने प्रभावको पूर्वतयारीका लागि त्रिपाललगायत सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिई सकिएको जनाएको छ।

त्यस्तै मतदान सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हूलहुज्जत वा असमान्य परिस्थिति सृर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई आयोगले कडा निर्देशन दिएको छ।