आइतवार, बैशाख २३, २०८१

मुस्लिम धर्मावलम्बीले आज  इद उल फित्र मनाउँदै

प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौं बैशाख ९,
मुस्लिम धर्मावलम्बीले शनिबार इद उल फित्र मनाउँदै छन्। एक महिना लामो रमादान पर्व [रोजा] पूरा भएको खुशीयालीमा अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने गरिन्छ ।

रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मानिन्छ। इद उल् फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। आजको दिन आर्थिक क्षमता भएका मुसलमानले आफ्नो कमाइको साढे दुई प्रतिशत रकम गरिब,असहाय र दीनदुःखीलाई बाँड्नुपर्ने व्यवस्था संगै मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढने परम्परा रहेको छ।

त्यस्तै विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने प्रचलन रहिआएको छ।

यसैवीच प्रधानमन्त्री प्रचण्डले मुस्लिम समुदायको इद [इदुल फित्र] पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ ।

इदको अवसरमा उहाले आज शुभकामना दिंदै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको बताउनु भएको छ ।

त्यस्तै शुभकामना सन्देशमा प्रधानमन्त्रीले हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिकता र विशिष्ट महत्व हुने गर्दछ, मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएको बताउँदै  ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने विस्वास व्यक्त गर्नु भएको छ ।