शुक्रबार, बैशाख २१, २०८१

अप्ठेरो अवस्थामा पनि पार्टीले नजोगाए कोर टिम सार्वजनिक गरिदिने सासंद श्रेष्ठको चेतावनी

काठमाडौं चैत २९,
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले अप्ठेरो परेका बेला आफूलाई पार्टीले सहयोग गर्नुपर्ने बताएका छन् । उनले छानबिन समितिमा बयान दिने क्रममा यस्तो बताएका एक सदस्यले जानकारी दिए ।  उनका अनुसार पार्टीले कारबाही गरेर साधारण सदस्यसमेत नरहने अवस्था आएमा आफूले कोर टिमको खुलासा गरिदिने चेतावनी दिएका हुन् ।

सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आफू स्वास्थ्य मन्त्री बन्न लागेको हुँदा पार्टीलाई सहयोग गर्न २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो ।

घुस मागेको अडियो सार्वजनिक भएपछि सो पार्टीले छानबिन समिति बनाएर ७२ घण्टाभित्र प्रतिवेदन सार्वजनिक गर्ने बताएको थियो । यसैक्रममा छानबिन समितिले श्रेष्ठसँग मंगलबार एकघण्टा बढी बयान लिएको थियो । बयानका क्रममा श्रेष्ठले आफूलाई फसाउन खोजिएको र यस्तो अप्ठेरो अवस्थामा पनि पार्टीले नजोगाए कोर टिम सार्वजनिक गरिदिने चेतावनी दिएका छन ।

यसैबीच रास्वपाले आज २ बजे केन्द्रीय समिति बैठक बोलाएको छ भने त्यसलगत्तै पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । केन्द्रीय समिति बैठक २ बजेका लागि सारिएको सो पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।  उनका अनुसार कतिपय सदस्य बाहिर रहेका कारणले पनि बिहान बोलाइएको बैठकको समय सारिएको उनको भनाई थियो ।