शुक्रबार, बैशाख २१, २०८१

जिटुजी सम्झौतामार्फत ईजरायल पठाईदिन्छु भन्दै ३१ लाख ठगी गर्ने यादव पक्राउ

काठमाडौं चैत २९ ,
उपत्यका अपराध अनुसन्धान कार्यालयले जिटुजी सम्झौतामार्फत ईजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बर्दिया गुलरिया नगरपालिका-३ खैरापुर टोल घर भई काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने २६ वर्षीय सुनिल कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीको लागि नेपाल सरकार र ईजरायलबीच हुने जिटुजी  सम्झौतामार्फत् सरकारी कोटामा ईजरायल पठाइदिने र त्यहाँ पुगेपछि कृषि कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी २ जना पीडितहरुबाट पटकपटक गरी ३१ लाख रुपैयाँ रकम ठगी गरेकोले उनलाई पक्राउ गरिएको हो ।

अभियुक्त यादवलाइ पक्राउ गर्न वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंको पत्राचार अनुरुप निजलाइ पक्राउ गरेको जनाउँदै प्रहरीले थप अनुसन्धान तथा कारवाहीको लागि उक्त विभागमा पठाइएको छ ।

 त्यस्तै  अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका १४ घर भई बुढानिलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका राणाले अमेरिका तथा दक्षिण कोरिया पठाईदिन सक्छु भन्दै प्रलोभनमा पारी पीडितहरुबाट करोडौँ रकम लिएर सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि निजलाइ बुढानिलकण्ठ कपनबाट पक्राउ गरेको हो ।