आइतवार, बैशाख २३, २०८१

सुरज आर्केडको बेसमेन्ट पार्किङ प्रयोजनमा रुपान्तरण

काठमाडौँ फागुन ५
काठमाडौं महानगर वडा न२४ स्थित व्यापारिक कमप्लेक्स सुरज आर्केडको बेसमेन्ट पार्किङका लागि तयार भएको छ । केही समय अघि व्यवसायिक प्रयोजनका लागि प्रयोग हुँदै आएको महानगरले स्वीकृत नक्सा र वर्तमान उपयोगको अवस्था अनुगमनको क्रममा कारवाही गरेसंगै आर्केड व्यवस्थापनले पार्किङ् प्रयोजनमा रुपान्तरण गरेको हो ।
कम्प्लेक्सको बेसमेन्टमा अहिले एकै पटक ३ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने भएको छ । कम्प्लेक्समा पार्किङ् सुविधा थपिएसँगै सधैजसो सवारी चाप रहने मखन इन्द्रचेक क्षेत्रमा यातायात व्यवस्थापनमा केहि सहजता आउँने अपेक्षा गरिएकोछ ।

काठमाडौ महानगरले ०७९ साउन २ गते ३५ दिने सार्वजनिक सूचना गरेर बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न अनुरोध गरेको थियो । सूचनाको म्याद सकिएपछि भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट महानगरले अनुगमन गर्दै कारवाहीको प्रक्रिया अगाडि बढाएको थियो ।

अनुगमनपछि सुन्धारामा रहेका काठमाडौँ मल, आरबी कम्प्लेक्स, दरबार मार्गमा रहेका लण्डन पब र दरबार मलको भूमिगत तला पार्किङ् सुविधामा रुपान्तरण भएका छन् । यस्तै नयाँ बानेश्वर, कलंकी, त्रिपुरेश्वर लगायत स्थानमा बेसमेन्ट तथा जमिन तलाको व्यवसायिक प्रयोजन हटाएर पार्किङ्का लागि खाली गराइसकेको छ । यसरी खाली गराइएका संरचनाहरुमा नक्सा स्वीकृत गर्दा पार्किङ् र भण्डार कक्ष देखाएर सुविधा प्राप्त गरेका हुन् यससँगै मापदण्ड विपरीत निर्माण गरिएका अनाधिकृत संरचनाहरु, ओभरल्यापिङ् र सेडव्याक हटाउने क्रमलाई महानगरले निरन्तरता दिदै आएको छ ।