आइतवार, बैशाख २३, २०८१

फागुन ११ देखि देशका विभिन्न १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

काठमाडौ फागुन ५,
सरकारले फागुन ११ गतेदेखि देशका विभिन्न प्रदेशका १५ वटा जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँने भएको छ।   सन् २००३ देखि ६४ जिल्लाबाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँने अभियान सुरु गरिएको हो । यद्यपी यसवीचमा प्रस्तावित १५ जिल्लामा  रोगको दर अपेक्षाकृत रुपमा नघेटकाले पुन अभियान शुरु गर्न लागिएको महाशाखाले जनाएको छ। स्मरण रहोस सन् २०३० सम्ममा नेपालमा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पत्रकार सम्मेलन गरी १५ वटा जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागेको जानकारी दिएको हो ।

 महाशाखाका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीका स्थानीयलाई औषधि सेवन कार्यक्रममार्फत औषधि खुवाउने तयारी भएको जनाएको छ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि प्रत्येक वर्ष १ अर्ब लगानी हुँदै आएको महाशाखाले जनाएको छ। यसवर्ष भने स्थानीय तह प्रदेश र जिल्ला र संघमा अभियान सञ्चालनार्थ औषधि खरिदका लागि ८५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको जनाएको छ भने ९ हजार ५ सय स्वास्थ्यकर्मी र १३ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ।

 हात्तीपाइले रोगका कारण हालसम्म ४० जिल्लाका ३२ हजार जनामा अपाङ्गता तथा हाइड्रोसिलको समस्या देखिएको  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।।