सोमवार, बैशाख २४, २०८१

सबैको पहुँच हुने स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना र सञ्चालन महानगरको प्राथमिकता: उपप्रमुख डंगोल

काठमाडौँ फागुन ३,
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले सबैको पहुँच हुने स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना र सञ्चालनलाई प्राथमिकता दिएको बताउनुभएकोछ । आज महानगर वडा १९ स्थित स्वास्थ्य प्रवर्धन केन्द्रको निरीक्षण पछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

त्यस्तै उपप्रमुख डंगोलले काठमाडौँ सहरले विपन्न र मध्यम वर्गलाई पनि आश्रय दिएको छ । उनीहरु महङ्गो स्वास्थ्य सेवा लिन नसकेको अवस्थालाइ दृष्टिगत गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, सञ्चालन र व्यवस्थापनका लागि महानगर प्रतिवद्ध रहेको बताउनुभयो ।

 २०५१ मा स्थापित सहरी स्वास्थ्य क्लिनिकलाई फ्रान्सको मेड्सा डु मोन्डसँग सहकार्यमा स्तरोन्नति सहित स्वास्थ्य प्रवर्धन केन्द्रमा रुपान्तरण गरिएको हो । केन्द्रबाट पछिल्लो समय स्वास्थ्य परामर्श, ईसीजी, अल्ट्रा साउण्ड, निबुलाइजेसन, परिवार नियोजनलगायतका निःशुल्क सेवा दिदै आएकोछ ।

त्यस्तै रुपान्तरित केन्द्रमा मेड्सा डु मोन्डको नेपाल साझेदार ग्रीन पाथ नेपालले गएको कार्तिक महिनादेखि चिकित्साजन्य फोहोर व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । बर्गीकरणसहितका बाल्टिन, निडल कटर (खोपका सुई), ४० लिटर क्षमताको अटोक्लेभ मेसिन, केमिकल इन्डिकेटर, प्रकृति अनुसारको फोहोर संकलन र भण्डारणका लागि छुट्टाटुट्टै कक्ष (प्लाष्टिक, प्लाष्टिकका बोतल, कागज, नफुटेका शिशा, धातु, सिरिञ्ज, पञ्जा, गज कटनलाई छुट्टाछुट्टै जम्मा गर्ने ठाउँ) स्थापना गरिएको  हो ।

निरीक्षणका क्रममा वडा १९ का अध्यक्ष राजेश श्रेष्ठले, केन्द्रको सञ्चालन वडाले देखाउन मिल्ने परियोजना भएको बताउँदै भविष्यमा यसलाइ थप विस्तार गर्दै जाने योजना रहेको बताउनुभयो । त्यस्तै वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठल हानीकारक फोहोर व्यवस्थापनमा प्रवर्धन केन्द्रको सिकाइ विस्तार गरिने बताउनुभयो ।