आइतवार, बैशाख २३, २०८१

काउन्सिलको उर्दी : मदिरा, सूर्ति तथा सूर्तिजन्य पदार्थको विज्ञापनको प्रचार प्रसार नगर्नु

काठमाडौ माघ २६,
प्रेस काउन्सिल नेपालले जनस्वास्थ्य प्रतिकूल हुनेखालका सामग्रीको प्रचार रोक्न सञ्चार माध्यमलाई सचेत गराएको छ । पछिल्लो समय सञ्चार माध्यम, सामाजिक सञ्जाललगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सूर्तिजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार गर्नेक्रमले निकै प्राथमकिता पाइरहेको काउन्सिलले जनाएको छ।

काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमार्फत जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा ९१० मा ‘मदिरा, चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थलगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था रहे पनि मौजुदा व्ययवस्थाको वर्खिलाप काउन्सिलको ध्यानाकर्षण भएको जनाइएको हो ।

त्यस्तै विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाललगायतका विद्युतीय माध्यम एवम् होर्डिङ बोर्डमा मदिरा, चुरोट, सूर्ति तथा सूर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको सन्दर्भमा प्रेस काउन्सिल यस किसिमका विज्ञापन सामग्री सम्प्रेषण नगर्न नगराउन सम्पूर्ण सञ्चार माध्यमलाई यसै विज्ञप्तिमार्फत आह्वान गर्दछ भनिएको छ।