शुक्रबार, बैशाख २१, २०८१

समानुपातिकतर्फ बन्दसूचीबाट हटाइएका ५५० को नामावली सार्वजनिक [सूची सहित]

काठमाडौं कार्तिक ९,

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ गर्दा अयोग्य देखिएका, जरिवाना नतिरेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ ।

यही कात्तिक ८ गतेको आयोगको निर्णय र उक्त प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट ती नाम बन्दसूचीबाट हटाइएको हो । उक्त प्रणालीतर्फ ६४५७ जना उम्मेदवारहरू रहेका मध्ये निर्वाचन कानून तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जना, उम्मेदवारहरूका सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझबाट गरी ५४८ जना र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक जना र कालो सूचीमा रहेका एक जना गरी कूल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाइएकोे छ ।

प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यका लागि दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारहरूको सम्बन्धमा जाँचबुझ गर्दा दाबी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिहरूले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण पेश नगरेको पाइएको र २०७९ कात्तिक ५ गते भित्र तोकिएको जरिवाना बुझाउने मौका प्रदान भएकोमा सो अवधिभित्र समेत जरिवाना नबुझाउने ३६९ जनाको नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको हो ।

यस्तै बन्दसूचीमा समावेश रहेका मध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधि सभा सदस्यतर्फ २३ जना र प्रदेश सभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरूषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका ६ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका ६ जनाको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाइको छ ।