आइतवार, बैशाख २३, २०८१

यस्तो छ राष्ट्रपति ,उपराष्ट्रपति र प्र.म.देउवाले इस्लाम धर्मावलम्बीहरूको र इदको अवसरमा जारी शुभकामना

काठमाडौ असार २६,
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इदको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको बकर इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आफ्नो शुभकामना सन्देशमार्फत आग्रह गर्नुभएको छ ।

त्यस्तै उहाँले आफ्नो सन्देशमा नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको र यही विविधताका बीच एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामथ्र्य भएको भन्दै चाडपर्वहरूको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने आफुले विश्वास लिएको उल्ेख गर्नुभएको छ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान् चाड इद–उल–अधा (बकर–इद)को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश दिँदै उहाँले ‘इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–अल–अधा (बकर–इद)को शुभ अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भने शुभकामना व्यक्त गर्नुभएको छ ।

साथै उहाँँले नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिको साझा फूलबारीको रूपमा रहेको उल्लेख गर्दै चाडपर्वहरूले सबै समुदायबीच आपसी सद्भाव, भाइचारा र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।