शनिबार, बैशाख २२, २०८१

‘सांस्कृतिक सहर, समृद्ध महानगर’ दीर्घकालीन अवधारणा सहित महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

 काठमाडौं असार ५ ,
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ महानगरको दीर्घकालीन अवधारणा सहित ११ औँ नगर सभामा आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश गर्नुभएको छ । त्यस्तै प्रस्तावित अवधारणा लाइ कार्यान्वयन गर्न संस्कृति सम्पदाको संरक्षण, सम्बर्धन, सञ्चार प्रविधिको उच्चतम उपयोग, सांस्कृतिक पर्यटन र नव प्रवर्तनमा आधारित उद्यम, संस्थागत सुशासनलगायत रणनीति लिएको प्रमुख शाहले बताउन भयो ।

त्यस्तै ‘स्थानीय शासनमा जनसहभागिता बढाएर पारदर्शी तथा उत्तरदायी सरकारको भूमिका निर्वाह गर्ने, काठमाडौँलाई स्वच्छ, सफा, हरियाली तथा सुरक्षित र समुन्नत सहरका रुपमा विकास गर्ने हाम्रो रणनीति रहेको बताउनुभयो ।

त्यस्तै शिक्षा नीतिमा महानगर शिक्षा सुधार योजना, स्थानीय पाठ््यक्रमको निरन्तर पठनपाठन, ११ वटा प्राविधिक विषयको अध्यापन भइरहेकोमा २ वटा थप गर्ने लगायत विषयसंग वडास्तरीय सामुदायिक सिकाइ केन्द्र स्थापना र सञ्चालन, विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच, विद्यालयहरुमा अग्नि नियन्त्रण उपकरण जडानलगायत कार्यक्रम छन् । दरबार हाइस्कूललाई राष्ट्रिय स्तरको नमूना विद्यालय बनाउने नीति महानगरले लिएको प्रमसख शाहले बताउनुभयो ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ

साथै स्वास्थ्य नीतिमा वडा क्लिनिकहरुको स्तरउन्नति गरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने, करदाताहरुलाई वीमाका लागि आवश्यक प्रबन्ध मिलाउने, महानगरले ५० प्रतिशत अनुदान दिने, विपन्नलाई निःशुल्क शैयाको प्रबन्ध गर्ने, आयुर्वेद पद्धतिलाई प्रवर्धन गर्नेलगायत नीति छन् । नागरिक आरोग्यता प्रवर्धन गर्न आहार, विहार, ध्यान, योग, प्राणायाम आदि बारे सचेतना फैलाउने, एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने, एक विद्यालय एक नर्स र स्कूल सोसियल वर्कर कार्यक्रम रहेका छन् ।
त्यस्तै सडक, ढल, खानेपानीका पाइप लाइन, सडक, बत्ती टेलिफोनलगायत भौतिक पूर्वाधारको डिजिटल प्रोफाइल तयार पार्ने नीतिलाई पूर्वाधार विकाससंगै विग्रेका पूर्वाधारलाई थप क्षति हुन नदिन तत्काल मर्मत, सम्भारका लागि अहिले सञ्चालनमा ल्याइएको इन्फ्रास्ट्रक्चर एम्बुलेन्सलाई आवश्यक थप उपकरण, सामग्री र जनशक्तिसहित विस्तार गरिनेछ । पैदल मार्गको स्तरोन्नति गर्ने, बस विसौनीहरुलाई मौलिकता दिँर्दै परम्परागत शैलीको फल्चा बनाउन इच्छुक संघ संस्थाहरुलाई प्राविधिक सहयोग उपलब्ध गराउने, सामुदायिक विद्यालय, सार्वजनिक संस्था तथा सार्वजनिक शौचालयहरुको स्तरोन्नति गरी अपाङ्ग तथा लैङ्गिकमैत्री बनाइने निति अख्तियार गरिने महानगर प्रमुख शाहले बताउनुभयो ।

कला क्षेत्रको प्रवर्धन गर्न डवलीहरुको पुनस्र्थापना र एम्पीथियटर निर्माण देखि साविकको केन्द्रीय कार्यालयलाई प्रवलीकरणको प्रवन्ध गरिनेछ । मेयर उज्यालो कार्यक्रमलाई निरन्तरता दिनुको अलावा सम्पदा तथा पर्यटन क्षेत्रअन्तर्गतका नीतिमा बौद्ध र स्वयम्भू स्तुपको व्यवस्थापन महानगरअन्तर्गत ल्याउन प्रयास गरिनेलगायतका बुँदा छन् । प्रमुख शाहले भन्नुभयो, ‘जात्रा, पर्व, मेला, पूजा, परम्परागत जीवनशैली, सांस्कृतिक सम्पदाको परिचयात्मक विवरण समेटेर सांस्कृतिक प्रोफाइल तयार पारिने बताउनुभयो ।

त्यस्तै गरि धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका मठ मन्दिर, हिति, पोखरी, बहाल, बहिल आदिको संरक्षण गरिनेछ । जात्रा पर्व सञ्चालन जस्ता अमूर्त सम्पदाको संरक्षणमा गुठी कार्यक्रमलाई निरन्तरता दिइनेछ । काठमाडौँ सहरलाई अन्तरराष्ट्रिय स्तरमा व्राण्डिङ् गराउन चलचित्र, संगीत, कला जस्ता मनोरञ्जन क्षेत्रसँग सहकार्य गरिनेछ । रञ्जना लिपीको संरक्षण हाँडीगाउँको पुनरुत्थान गर्दै यसै बर्षदेखि होमस्टे सञ्चालन गर्ने र इन्द्रजात्राको अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगरका प्रमख, उपप्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरेर विश्वस्तरमा परिचित गराउने कामलाई निरन्तरता दिइनेछ । यससँगै स्थानीय जात्रा तथा पर्वहरुलाई अन्तरराष्ट्रिय स्तरमा परिचित गराउने कार्यक्रम सञ्चालन गरिने जनाउ दिनुभयो ।

त्यस्तै फोहोर व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सम्बन्धी नीतिमा फोहोरको बर्गीकरणमा प्रोत्साहन गर्ने, जिरो वेस्ट, वेस्ट टु इनर्जी जस्ता अवधारणाबाट वातावरणीय सुधार तथा फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने विषय समेटिएका छन् । फोहोरको उत्पादन कम गर्ने, फोहोर संकलन, ढुवानी तथा अन्तिम व्यवस्थापनलाई सहज बनाउने, प्लाष्टिक झोला निषेध गर्ने, कागज तथा कपडाका झोला प्रवर्धन गर्ने, पार्क निर्माण गर्ने हरियाली बढाउने नीतिमा उल्लेख छ । अदालतका निर्देशनात्मक आदेशलाई कानून बनाएर कार्यान्वयन गर्ने, सतप्रतिशत जमिन घरले नओगटेका घरमा एक घर एक रुख नीतिअनुरुप कार्यक्रमको सञ्चालन , हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रममार्फत प्रत्यक्ष सम्वाद कार्यक्रम , अर्वान सेक्युरिटी सिस्टमका लागि नेपाल प्रहरीसँग सहकार्य हुनेछ । ई—लाइव्रेरी सञ्चालन गर्ने, आकाशे पुलमा मानिसको आवतजावत देखिने बनाउन खुल्ला बार लगाउने, १ बर्षभित्र महानगरको पहिलो आवधिक योजना (२०७९ —२०८४) तर्जुमा गरी कार्यान्वयनमा ल्याउने नीति सुशासन र कर्मचारीको कार्यव्यवहार जनमैत्री, सुशासनयुक्त तथा पारदर्शी बनाउने, संगठन संरचना र दरबन्दी सम्बन्धी कार्यविवरण कार्यान्वयन गर्ने, नतिजामा आधारित कार्यसम्पादन र प्रोत्साहन प्रणाली अबलम्बन गर्ने नीतिलाई संस्थागत विकास तथा सुशासन सम्बन्धी नीतिमा समेटिएको छ ।

राजस्व प्रशासनलाई न्यायोचित, पारदर्शी र बैज्ञानिक बनाउने, करदाताको छुट्टै विद्युतीय लगत बनाउने, कर संकलन अनलाइन प्रणालीलाई सुधार गर्दै जाने, वैदेशिक ऋणको वित्तिय भार न्युन बनाउँदै आगामी आर्थिक बर्षमा वैदेशिक ऋणमुक्त बनाउने राजस्व तथा वित्त व्यवस्था सम्बन्धी नीतिमा उल्लेख छ । वाह्य विज्ञापन व्यवस्थापन, महानगरको संस्कृति, सम्पदा, सभ्यता तथा पर्यटनको प्रवर्धनका लागि निर्माण हुने चलचित्र, नाटकजस्ता विधामा निश्चित मापदण्डका आधारमा अनुदान प्रदान गर्ने नीति संगै सिसीटिभी क्यामरा जडान गर्ने, जीपीयस ट्र्याकिङ् सिस्टम जडान गर्ने, निजी क्षेत्र र उपत्यका नगरपालिकाहरुको सहकार्यमा सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित गर्ने, सडक मार्गको व्यापार निरुत्साहित गर्ने विषय छन् । भर्टिकल तथा भूमिगत पार्किङ्को व्यवस्था गर्ने, खुल्लामञ्चसँगैको जग्गामा रिजर्भ बोरिङ्सहित भूमिगत पार्किङ्को सम्भाव्यता अध्ययन गर्ने नीतिमा उल्लेख रहेको छन् । साथै
सूचना प्रविधिको प्रयोगबाट न्याय सम्पादन सरल, सहज र पहुँच योग्य बनाइनेछ । कानून तथा मानव अधिकार सम्बन्धी नीतिमा यससँगै मेलमिलाप केन्द्रको स्तरोन्नति गर्नेलगायत विषय संगै भर्टिकल गार्डेन, कौसी तरकारी खेती, शीत भण्डारको स्थापना लगायत बुँदा कृषि सम्बन्धी नीतिमा समावेश छ । यसै गरी पशुजन्य व्यवसायको अभिलेखीकरण, छाडा चौपायाको व्यवस्थापन, मासुजन्य उत्पादन तथा विक्री वितरण व्यवसायको मापदण्ड पूरा गराउने, मृत जीवजन्तुको व्यवस्थापन पशु सेवा सम्बन्धी नीतिमा उल्लेख गरिएको छ ।

बाल गृहमा भएका बालबालिकाहरुलाई पारिवारिक पुनमिलन गराउने, ७५ बर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको महानगर भत्ता कार्यक्रमलाई निरन्तरता दिने, ज्येठ नागरिकमा भएको ज्ञान, सीप र अनुभव पुस्तान्तरण र हस्तान्तरण गर्न वडास्तरमा मिलन केन्द्र सञ्चालन गर्ने नीतिमा उल्लेख छ । अल्जाइमर्स, पार्किन्सन्सजस्ता रोगको उपचार गर्ने अस्पतालहरुसँग सहकार्य गर्ने, पूर्ण अशक्तलाई साविकमा दिइँदै आएको मासिक ३ हजार रुपैयाँलाई बढाएर ६ हजार रुपैयाँ पु-याइएको छ ।

खेलकुदमार्फत युवाहरुको व्यक्तित्व विकासका लागि खुल्ला व्यायामशाला निर्माण गरिनेछ । एरोविक्स र योगा सञ्चालन गर्न पूर्वाधार विकास गरिनेछ । राष्ट्रिय अन्तरराष्ट्रिय खेल प्रतियोगिता सञ्चालन गर्न क्लवहरुसँग सहकार्य गरिनेछ । सन्ध्याकालीन खेल सञ्चालनका लागि फ्लड लाइटको व्यवस्था गरिनेछ । त्यस्तै सभामा प्रमुख शाहले, सीप विकास तथा उद्यमशीलता प्रवर्धन, सहकारी, अन्तरराष्ट्रिय सम्बन्ध, विपद व्यवस्थापन, सहरी विकास तथा भवन मापदण्ड, सार्वजनिक निजी साझेदारी, सूचना प्रविधि क्षेत्रका नीतिहरु प्रस्तुत गर्नुभएको थियो ।

यस अघि आज नै प्रमुख शाहको अध्यक्षतामा कार्यपालिकाको तेस्रो बैठक बसेको थियो । वैठकले नगर सभामा प्रस्तुत गर्नुपर्ने नीति तथा कार्यक्रम, कार्यसूचीसहित विविध विषयमा छलफल तथा निर्णय गरेको थियो । वैठकमा उपप्रमुख सुनिता डंगोल, कार्यपालिका सदस्यहरु र विभागीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो । बैठकमा प्रमुख शाहको निर्देशनपछि प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले प्रस्तावित नीति कार्यक्रमका बुँदाहरु प्रस्तुतिकरण गर्नुभएको थियो ।
आज सभामा पेश भएका नीति तथा कार्यक्रमहरुका विषयमा असार ८ गते छलफल कार्यक्रम छ । ११ औँ नगर सभाको दोस्रो बैठकमा नगर सभा सदस्यहरुले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा तथा सुझाव राख्नुहुनेछ ।