आइतवार, बैशाख २३, २०८१

दुई अनलाइन कालोसूचीमा, ८१ उजुरी फर्छ्र्यौट

काठमाडौं फागुन १३,
प्रेस काउन्सिल नेपाल अन्तर्गत आज बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले नेपाल आज डटकम  नेपाल आज डटकम (www.nepalaaja.com) र ‘सगरमाथा खबर डटकम’(www.sagarmathakhabar.com)  लाई कालोसूचीमा राखी थप कारबाही अगाडि बढाउने निर्णय गरेको छ। त्यस्तै समितिको तर्फबाट भएको कारवाहीको सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण विभागलाई जानकारी गराृदै उक्त मिडियालाई उपलब्ध गराइने विज्ञापन, प्रेस पास तथा अन्य सेवा सुविधा उपलब्ध नगराउन पत्रकार आचारसंहिता–२०७३ [पहिलो संशोधन, २०७६] बमोजिम सिफारिस समेत गरेको छ ।

बैठक पछि काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा उक्त अनलाइनले विगत २ वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ल्याण्डलाइनबाट पटकपटक फोन गरी हैरानी दिने गरेको आरोपसहित महिला पत्रकारबाट परेकासहित विभिन्न ६ उजुरी र काउन्सिलको स्वअनुगमनबाट देखिएका आचारसंहिता उल्लङ्घनका विषयमा सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन प्रकाशन गर्न पटकपटक निर्देशन दिइएपनि खण्डन प्रकाशन नगर्ने मात्र नभइ पटक पटक आचारसंहिताविपरीत सामग्रीहरू सम्प्रेषण गरि नै रहेकाले कालोसूचीमा राखिएको उल्लेख गरिएको छ ।

त्यस्तै उक्त अनलाइनले गलत अपुष्ट स्रोतको हवाला दिँदै सिलसिलेवररुपमा प्रायोजित एवम् एकपक्षीय सामग्रीहरू सम्प्रेषण गर्ने गरेको, व्यक्तिगत चरित्रहत्या हुने किसिमबाट पत्रकारिताको न्युनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको र ‘ब्ल्याकमेलिङ’ गरी आफ्ना माग पूरा नभए विनाआधार चरित्रहत्या गर्ने गरेको भनी मौखिक एवम् लिखित गुनासाहरूसमेत आएको उल्लेख गरिएको छ ।

 साथै २०७८ साउनदेखि २०७८ फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी, ८ जनगुनासा दर्ता भएकोमा हालसम्म ८१ उजुरी र ४ जनगुनासा फर्छ्र्यौट भएका छन् । साथै, यस अवधिमा भएका १७१ वटा स्वअनुगमन सामग्रीमध्ये १४९ वटा फर्छ्र्यौट भएको जानकारी दिइएकोछ । यस्तै ४० उजुरी र ६८ स्वअनुगमनका आधारमा १०८ वटा दर्ता र सूचीकरण नभएका वेब पोर्टलहरू नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था सहित यस बिचमा दुई सञ्चार माध्यम अवज्ञाकारी सूचीमा परेको जानकारी पनि  काउन्सिलले दिएको छ ।