सोमवार, बैशाख २४, २०८१

अवैध कल सेन्टरमा प्रहरीको छापा , चिनियाँ नागरिक वानजिनिओ सहित ८१ जना पक्राउ

काठमाडौं फागुन १०, 

अवैध रुपमा कल सेन्टर सञ्चालन गरेर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरको सानोठिमीस्थित कल सेन्टरबाट एक चिनियाँ नागरिकसहित ८१ जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरसहितको टोलीले २९ वर्षीय चिनियाँ नागरिक वानजिनिओसहित ८१ जनालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरुले भारतीय मुलका युवा युवतीलाई छोटो समयका लागि मिटर ब्याजका रुपमा रु पाँच हजारदेखि रु १० हजारसम्म ऋण दिएर उक्त ऋणको मिटर ब्याजसहित तोकिएको समयभित्र उठाउन ऋणीहरुलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य सञ्चालन गरेको अनुसन्धानको क्रममा खेलेको जनाएको छ।

त्यस्तै चिनियाँ नागरिक वानजिनिओले कल सेन्टर सञ्चालनका लागि सानोठिमीमा ३ तले भाडा घर प्रयोग गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४७ नेपाली महिला र ३३ पुरुष रहेका छन् । साथै प्रहरीले सानोठिमीस्थित कल सेन्टरमा प्रयोग भइरहेको डेस्कटप कम्प्युटर १४ थान, ल्यापटप ४८ थान, आइप्याड दुई थानलगायतका उपकरण बरामद गरेको जनाएको छ ।