आइतवार, बैशाख २३, २०८१

प्रधानसेनापति क्षत्रीले भने, ‘परिस्थिति बदलिन सक्छ, तयारी अवस्थामा बस्नु’

काठमाडौ मार्ग ९, प्रधानसेनापति राजेन्द्र क्षत्रीले मधेसकेन्द्रित दलको संविधानप्रति असन्तुष्टिका कारण मुलुकको परिस्थिति जतिबेला पनि बदलिन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।  जंगी अड्डामा मंगलबार र बुधबार चलेको पृतनापति समन्वयात्मक बैठकमा भएको विद्यमान परिस्थितिको 6190_rajendra-chhetri-nepal-armyमूल्यांकनपछि उनले आउन सक्ने जस्तासुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेसनल, तालिम तथा बन्दोबस्ती तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । बैठकमा प्रधानसेनापति क्षत्रीले परिस्थिति जतिबेला पनि बदलिन सक्ने भएकाले मुलुकको हितलाई ध्यानमा राखेर तालिम तथा बन्दोबस्तीको तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका थिए ।

प्रधानसेनापति क्षत्रीले विभागीय प्रमुखहरू तथा पृतनापतिहरूलाई संस्थागत जिम्मेवारी तथा कार्यहरूको अलावा अपरेसनल रेडिनेस तथा सांगठनिक सुदृढीकरणका क्षेत्रहरूमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । बैठकमा पृतनापतिहरूले दिएको सुझावका आधारमा प्रधानसेनापति क्षत्रीले तराईका विभिन्न जिल्लामा भइरहेको आन्दोलन र तराईकेन्द्रित राजनीतिक दलका नेताहरूले दिएको अभिव्यक्तिहरू समेतलाई ध्यान दिएर सैन्य संरचना तथा अपरेसनल अवस्था चुस्तदुरुस्त राख्न निर्देशन दिएको खवर आजको राजधानी दैनिकमा प्रकाशित रहेको छ ।

प्रकाशित खवरमा नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे पृतनापतिहरूले ब्रिफिङ गरेका थिए । वार्षिक नियमित बैठक भए पनि यसमा समग्र विषयहरूको छलफल, मूल्यांकन र भावी रणनीतिका केही आधार तय स्वाभाविक भएको उनको भनाइ छ । ‘मुलुकमा देखिएका पछिल्ला विकसित घटनाक्रमबारे सेना अनभिज्ञ भएर बस्न मिल्दैन, त्यसकारण पनि पृतनापतिहरूको बैठकमा छलफल र मूल्यांकन हुन्छन्,’ प्रवक्ता कार्कीले भने, ‘यसले भोलिका दिनमा मुलुकको सुरक्षा अवस्थामा त्यसले पार्ने प्रभावबारे थप रणनीति बनाउन पनि सहज हुनेछ ।’

बैठकले तराईलगायत मुलुकका विभिन्न भागमा क्रियाशील असन्तुष्ट समूहको माग र उनीहरूको त्यस क्षेत्रमा रहेको प्रभावले सुरक्षा चुनौती थपेको निष्कर्ष निकालेको छ । बैठकमा सहभागीहरूले असन्तुष्ट समूहका राजनीतिक प्रकृतिका माग राष्ट्रिय अखण्डतालाई ध्यानमा राखेर सरकार तथा राजनीतिक दलहरूले नै सुल्झाउनुपर्ने सुझावसमेत दिएका छन् । तराई–मधेस र प्रादेशिक राजधानीजस्ता विषयले स्थानीय स्तरको सुरक्षा अवस्था खल्बलिन सक्ने र त्यसबाट मुलुकको अखण्डतामा आँच आउन नदिन सेना सचेत रहनुपर्ने पनि बैठकमा सहभागीहरूले सुझाव दिएको स्रोतले जनाएको छ ।  समन्वयात्मक बैठकका क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौतीहरू एवं सुझावहरूका सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । बैठकमा समसामयिक वस्तुस्थितिको पुनरावलोकन तथा मूल्यांकनसमेत भएको थियो ।