आइतवार, जेष्ठ ६, २०८१

अनुसन्धान समितिको राय बिना पक्राउ पुर्जी जारी गर्न नमिल्ने काउन्सिलको जिकिर

काठमाडौं भाद्र २१,
नेपाल मेडिकल काउन्सिलले उपचारका क्रममा चिकित्सकको लापरबाही वा हेलचेक्राई सम्बन्धी घटनामा अनुसन्धान समितिको राय बिना पक्राउ पुर्जी जारी गर्न नमिल्ने जनाएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाइ पक्राउ गर्न पुर्जी जारी भएसंगै काउन्सिलले विज्ञप्तिमार्फत यस्तो जनाउ दिएको हो ।

त्यस्तै काउन्सिलले जारी गरेको विज्ञप्तिमार्फत उपचार सम्बन्धी कानुनी व्यवस्था बारे स्पष्ट पार्दै काउन्सिलमा दर्ता भई चिकित्सकीय पेशा सञ्चालन गर्ने वा चिकित्सकीय कार्य गर्ने चिकित्सकले कुनै व्यक्तिको स्वास्थ्योपचार गर्दा ज्यान मर्न वा अंगभंग हुन गएमा वा स्वास्थ्य उपचारको सिलसिलामा कुनै दुर्घटना भएमा काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको नेतृत्वमा रहेको ५ सदस्यीय अनुसन्धान समितिको राय बमोजिम कारबाही प्रक्रिया अघि बढाउनुपर्ने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १८९ को उपदफा ३ मा व्यवस्था रहेको जनाएको छ।

त्यस्तै विज्ञप्तिमा कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य उपचारका क्रममा कुनै लापरबाही वा हेलचेक्राई गरेको शंका लागेमा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ को इलाज सम्बन्धी कसूरको दफा २३१, २३२, २३३ र २३८ ले कानुनी उपचार सम्बन्धि कानुनी व्यवस्था गरेको र उल्लेखित दफा बमोजिमको  कामकारवाहीमात्र मान्य हुने जनाएको छ ।

साथै काउन्सिलले सोही दफाको उपदफा ४ मा समितिको राय बमोजिम मात्रै सम्बन्धित सरकारी वकील कार्यालयले मुद्दा दर्ता गर्ने व्यवस्था गरेकोले, निज चिकित्सकले कुनै हिंसा वा स्वास्थ्य उपचार गर्दा लापरवाही गरेको छ वा छैन तत् सम्बन्धमा अनुसन्धान समितिले अनुसन्धान गर्ने हुँदा यस विपरित मुद्दा दर्ता तथा प्रक्राउपूर्जी जारी गर्ने वा प्रक्राउ गर्ने लगायतका काम कारबाही नगर्न अनुरोध समेत गरेको छ।

स्मरण रहोस, गत भाद्र २ गते डा साहले एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारको क्रममा बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा शाहीले जुम्ला प्रहरीमा भाद्र १३ गते जाहेरी दरखास्त दर्ता गरेपछि डा साह विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।