बिहिबार, बैशाख २०, २०८१

पोखरीको पुननिर्माणको क्रममा सिर्जित भ्रमलाई चिर्न सक्नुनै मुख्य सफलता : महानगर प्रमुख शाक्य

काठमाडौं चैत २
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज साँझ एक कार्यक्रमका वीच महानगरको वडा नं। १ स्थित कमलपोखरीको उद्घाटन गर्नुभएको छ । कमलपोखरी पुननिर्माण गुरुयोजनाको   २ चरण मध्ये  पहिलो चरणको काम सकिएसंगै   आज उद्घाटन  गरिएको  हो ।

पोखरी उद्घाटनसत्रलाइ सम्बोधन गर्दै प्रमुख शाक्यले स्थानीय र सरोकारवालावीचको छलफल पछि प्राप्त भएको सुझाव अनुरुप पोखरीको पुननिर्माण गरेको बताउँदै पोखरीमा सबैले स्वामित्व बोध गर्न सकोस भन्ने महानगरको अपेक्षामा खरो उत्रन सक्नुनै सफलताको सुचक भएको बताउनुभयो ।त्यस्तै सम्पदा पुननिर्माण गर्दा मौलिकतालाइ कायम राख्दै यसवीचमा सिर्जित भ्रमलाई चिर्दै पुननिर्माणलाई आजको अवस्थामा पु-याउन सफल भएको बताउनुभयो ।

कार्यक्रममा महानगरका उपप्रमुख ,वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठ लगायतले पनि वोल्नु भएको थियो ।

पोखरी पुननिर्माण गर्न र सौन्दर्य बढाउने कामका लागि महानगरले ९ करोड ४६ लाख ९९ हजार ५०२ रुपैयाँ ८१ पैसा लागत अनुमान गरेको थियो । यसका आधारमा गरिएको खुल्ला प्रतिस्पर्धाबाट धनञ्जय कंडेल जे. भि. रानीबारीले ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँ ६३ पैसा कबोल गरेर जिम्मा पायो । २०७७ असार १५ गतेभित्र पुननिर्माण पूरा गर्ने मुख्य शर्तका आधारमा निर्माण पक्षलाई महानगरले ०७६ असार ६ गते कार्यादेश दिएको थियो । कोविड महामारीले निर्माण सामग्री ल्याउन र जनशक्ति परिचालन गर्न नसकिने अवस्था आएपछि पुननिर्माणको काम तोकिएको समयमा भन्दा ढिला भएको हो ।

पार्क भित्र पोखरी वरिपरि ठूला—ठूला ढुंगा छापिएका सिंढी बनाइएका छन् । पोखरीको सौन्दर्य हेर्नका लागि पूर्वतर्फबाट ६० मिटरभित्र पुग्ने बाटो र झिँगटीको छानोयुक्त मण्डप बनाइएको छ । यस्तै पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने ४ ओटा मण्डप बनाइएका छन् । मण्डपमा पुग्न पुग्न कलात्मक सिँढीहरु बनाइएका छन् । कमल रोप्नका लागि ४ कुनामा साना—साना पोखरी बनाएर कमल रोपिएको छ । आगन्तुकलाई बस्नका लागि चौताराहरु बनाइएका छन् । पोखरीमा प्रवेश गर्न पूर्वतिर मूल गेट राखिएको छ भने अन्य ३ कुनामा प्रवेश द्वार बनाइएको छ ।
पुननिर्माण गुरु योजनाअनुसार निर्माणको काम २ चरणमा हुनेछ । पहिलो चरणमा पोखरी र पोखरी संरचनासँग जोडिएका काम सकिएको हो । दोस्रो चरणमा दक्षिणतर्फ साविकमा प्रहरी बीट भएको ठाउँलगायत वरिपरि पार्क निर्माण र हरियाली विकास, खुल्ला शारीरिक व्यायाम स्थल, व्याटमिन्टन र बास्केटबल कोर्टलगायत संरचना बनाइने भएकोछ ।