बिहिबार, बैशाख २०, २०८१

शेर्पा समुदायले आज विविध कार्यक्रम सहित मुसा वर्ष शुरु हुने ग्याल्पो ल्होसार मनाउँदै

काठमाडौ फागुन १९,
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम गरी धुमधामसँग मनाइँदै छ। शेर्पा समुदायले नयाँ वर्षका रुपमा ग्याल्पो ल्होसार मनाउने गर्छन्। आज २१४९ औँ ग्याल्पो ल्होसार मनाउन लागिएको हो।

मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। आज बराह वर्ष पूरा भई मुसा वर्ष शुरु हुने जनाइएको छ।
ग्याल्बो ल्होसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन छ। शेर्पा समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गर्छन्।

पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिन्छन्, जसलाई लामा ‘ल्होसार’ भनिन्छ। पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।