बिहिबार, जेष्ठ ३, २०८१

सुप्रिम सहकारी घोटाला प्रकरण: प्रहरीले बुझायो १ अर्ब २ करोड मागदाबीको प्रतिवेदन

 काठमाडौं बैशाख २,
इलाका प्रहरी कार्यालय बुटवलले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणको अनुसन्धानपछि जिल्ला सरकारी वकीलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।  १ हजार ८३१ जना सुप्रिम सहकारी पिडितको जाहेरीको आधारमा इप्रका वुटवले अनुसन्धान गरेको हो ।

अनुसन्धानको क्रममा प्रहरीले ओखलढुंगा घर भएका जीबी राई, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा सहकारीका कोषाध्यक्ष दिपेश पुन, सुप्रिम सहकारीका अध्यक्ष ओमप्रसाद गुरुङ, दुर्गा चापागाईं, दीपक न्यौपाने, नीता थापामगर, रोशनी गुरुङ, सागर केसीसहित २८ जनालाई प्रतिवादी बनाउँदै बुझाइएको प्रतिवेदनमा प्रहरीले सरकारी वकिललाई अनुसन्धानको क्रममा प्राप्त तथ्य सहित १ अर्ब २ करोड मागदाबी लिनु राय दिएको छ ।

त्यस्तै यस प्रकरणमा प्रहरीले अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाई पाण्डे, दिपक न्यौपाने र निता थापा मगर पक्राउ गरिसकेका छन भने जीबीसहित पाँच जना फरार रहेको व्यहोरा समेत प्रतिवेदनमा उल्लेख गरिएको छ।