बिहिबार, जेष्ठ ३, २०८१

आज इस्लाम धर्मावलम्बीले इद-उल-फित्र मनाइँदै

काठमाडौं चैत २९,
आज इस्लाम धर्मावलम्बीको पर्व इद-उल-फित्र एकआपसमा शुभकामना आदान-प्रदान गरेर मनाइँदै छ ।  एक महिना लामो रमादान पर्व रोजा पूरा भएको खुशीयालीमा अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने गरिन्छ ।

रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मानिन्छ। इद उल् फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। आजको दिन आर्थिक क्षमता भएका मुसलमानले आफ्नो कमाइको साढे दुई प्रतिशत रकम गरिब,असहाय र दीनदुःखीलाई बाँड्नुपर्ने व्यवस्था संगै मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढने परम्परा रहेको छ।

त्यस्तै विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने प्रचलन रहिआएको छ।   इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।