सोमवार, जेष्ठ ७, २०८१

लघुवित्त पीडित संसद् भवन प्रवेश प्रकरण:गृहमन्त्रीले माग्यो गृहसचिव, आईजीसहित प्रहरी प्रमुखसंग स्पष्टीकरण

काठमाडौं फागुन १५,
सोमवार अपराह्न निषेधित क्षेत्र तोडी नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको २ नं गेटबाट भित्र प्रवेश गरी नाराजुलुस गरेका लघुवित्त पीडितहरु अहिले पनि प्रहरीको नियन्त्रणमै छन् । उनीहरुलाई काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा थुनामा राखिएको छ ।

देशका विभिन्न ठाउँबाट काठमाडौं आएका लघुवित्त पीडितहरु हिजो अचानक बानेश्वरस्थित संसद् भवन परिसरमै पसेर सरकारविरुद्ध प्रदर्शन गरेको अभियोगमा पक्राउ परेको ४९ जना प्रदर्शनकारी लाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरुलाई के कारबाही गर्ने भन्ने विषयमा निर्णय लिन जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको थाहा भएको छ।

यसैवीच प्रदर्शनकारी संसद् छिरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले असन्तुष्टि व्यक्त गर्दै गृहसचिव, आईजीसहित प्रहरी प्रमुखलाई स्पष्टीकरण लिएका छन् ।
गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीका अनुसार मन्त्री श्रेष्ठले घटनाबारे गृह सचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौँ उपत्यका प्रहरी प्रमुख दीपक थापा, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवम् प्रवक्ता नारायणप्रसाद भट्टराई, काठमाडाँैका प्रजिअ जितेन्द्र बस्नेत लगायतसँग स्पष्टीकरण लिइएको जानकारी दिएका छन ।

त्यस्तै प्रहरी मुख्यालयले गृहमन्त्रीको निर्देशनमा संसद् भवनको सुरक्षार्थ तैनाथ प्रहरी निरीक्षकसहित ३२ प्रहरीलाई जिम्मेवारी मुक्त गरी अर्को टोली खटाएको छ भने घटनाको थप अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको संयोजकत्वमा काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे सदस्य रहेको छानबिन समिति गठन गरिएको छ।त्यस्तै समितिलाइ पुनः यस्ता प्रकारका घटना दोहोरिन नदिन राय९सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।