सोमवार, जेष्ठ ७, २०८१

ललिता निवास क्षेत्रको जफत भएको जग्गा ७ दिनभित्र खाली गर्न महानगरको  सार्वजनिक उर्दी

  काठमाडौं फागुन ९,

काठमाडौं महानगरले बालुवाटारस्थित ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा सङ्घ संस्थाहरूलाई सो क्षेत्रबाट हट्न सूचना जारी गरेको छ । महानगरले आज प्रकाशित गरेको सार्वजनिक सूचनामा विशेष अदालत, काठमाडौको फैसला बमोजिम जफत भएको ललिता निवासको सरकारी सम्पत्तिको संरक्षणका लागि जफत भएको जग्गा र सो क्षेत्र ७ दिनभित्र खाली गर्न भनेको हो।

 विशेष अदालतले काठमाडौँ महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवासको जफत भएको जग्गाको संरक्षण, रेखदेख तथा उचित प्रबन्धका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ र स्थानीय तहको सम्पति संरक्षण व्यवस्थाको दफा ९७ को १ अनुसार महानगरपालिका क्षेत्रमा रहेको सरकारी सामुदायिक र सार्वजनिक सम्पतिको संरक्षण गर्ने कानुनी दायित्व महानगरसंग निहित रहेका कारण ७ दिने सूचना प्रकाशित गरिएको महानगरले जनाएको छ ।

त्यस्ते जारी सूचनामा वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजासमेत १७५ जना भएको ‘सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको’ मुद्दा नं। ०७६९ ०७६-CR-०२७०  मा संवत् २०८० ११ ०३ मा भएको फैसलाबाट काठमाडौँ महानगरपालिका वडा नं ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत उल्लेख गरिएको छ ।

महानगरले सूचना प्रकाशित गरेको सात दिनभित्र उक्त क्षेत्रबाट हटी महानगरपालिकालाई सहयोग गर्न अनुरोधसंगै तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुनबमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा समेत यसै सूचनामार्फत सम्बद्ध सरोकारवालालाई सूचित गरेको उल्ल्ेख रहेको छ ।