सोमवार, जेष्ठ ७, २०८१

माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट सबै कमिटी निर्वाचित गरिने

काठमाडौ फागुन ३,
प्रधानमन्त्री एवं नेकपा[माओवादी केन्द्र] का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान परिमार्जनसहित पारित भएको छ ।माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको   हो ।

अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।  विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताउनुभयो । उहाँले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताउनुभयो ।  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौंदामाथि २० समूहहरुबाट सुझाव सङ्कलन गरिएको थियो ।

 यसैवीच विधान अधवेशनलाइ सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले विधान अधवेशन अत्यन्त सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।  सम्बोधनको क्रममा उहाँले प्राप्त सुझावका आधारमा आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति निर्माण गर्ने र समितिबाट प्रत्यक्ष निर्वाचनको विधिबाट नै पदाधिकारी चयन गर्ने हुने बताउनुभयो ।

साथै उहाँले प्राप्त सुझाव अनुरुप आगामी अधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति बनाइने र आगामी अधिवेशनपछि ११ जनाको केन्द्रीय कार्यालय बनाउने र त्यसैलाई प्रभावकारी बनाइने जानकारी दिनुभयो ।  त्यस्तै प्रत्येक दुई वर्षमा सदस्यता नवीकरण गर्ने प्रदेशलाई बलियो बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्नेगरी विधान तर्जमा गर्दै सङ्घीयता र समानुपातिक व्यवस्थालाई प्रभावकारी बनाइने अध्यक्षले जानकारी दिनुभयो ।

नाम र चुनाव चिह्नका विषयमा कुनै खास समयमा निर्णय गरिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले धेरै कम्युनिष्ट पार्टीबीच एकता हुने अवस्थामा नाम फेर्न सकिने तर अहिले यथावत राख्ने बताउनुभयो ।  उहाँले मोर्चाहरुलाई वैचारिक तालिमसहित स्वायतता दिने र जनवर्गीय सङ्गठनलाई पनि विस्तार गरिने बताउनुभयो । अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकबाट कार्यविभाज गरेर जानकारी दिइने बताउनुभयो ।